धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा भएको क्वार्टरफाइनल खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
धनकुटा — यहाँ जारी १८औं सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मोरङको बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा भएको क्वार्टरफाइनल खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
बेलबारीका लागि दोस्रो हाफको ३५औं मिनेटमा बाबा टुन्डीले निर्णायक गोल गरे। सोही गोल नै बेलबारीलाई सेमिफाइनल पुर्याउन पर्याप्त बन्यो।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा खेल हेर्न उपस्थित दर्शक ।
खेलको सुरुदेखि नै सातदोबाटोले बेलबारीमाथि दबाब बनाएको थियो। सातदोबाटोका खेलाडीले बेलबारीको पोस्टमा एक दर्जनभन्दा बढी प्रहार गरे पनि गोलकिपर अजय परियारले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए।
खेलको अन्तिम समयमा सातदोबाटोका अधिकांश खेलाडी आक्रमणका लागि बेलबारीको पोस्टतर्फ केन्द्रित भएका बेला मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै बाबा टुन्डीले आकर्षक गोल गरेका थिए। खेलका निर्णायक गोलकर्ता बाबा टुन्डी ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल खेल आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटा र सिरहाको सहलेस फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
