प्रशिक्षक भन्छन् ‘साँघुरो जितले चिन्ता लिनुपर्दैन’

गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा गीता रानाको गोलमा भुटानविरुद्ध नेपालको विजयी सुरुआत।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Coach says 'narrow win is nothing to worry about'

What you should know

काठमाडौँ — नेपालले जित्न त जित्यो, तर यो जित मन छुने खालको रहेन कि ? नेपालले महिला साफ च्याम्पियनसिप फुटबलमा सोमबार विजयी सुरुआत लिएको छ । त्यो भुटानमाथि एक गोलको जित निकाल्दै हो । यो जित कस्तो रह्यो भने नेपालका लागि यसले प्रतियोगिताको सेमिफाइनल पुग्ने बाटो सजिलो बनाइदिएको छ । जितपछि नेपालको खातामा ३ अंक छ । अब आइतबार समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दा आरामले खेल्न सक्नेछ । तर नेपालको सुरुआती प्रदर्शनका आधारमा खेल सन्तोषजनक रहेन । 

‘यो नतिजालाई लिएर चिन्ता लिनुपर्दैन,’ नेपाली प्रशिक्षक नवीन न्यौपानको दाबी छ । खेलपछि मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘टिम हिजै मात्र गोवामा आइपुगेको हो, त्यसैले यहाँको गर्मीसँग खेलाडी अभ्यस्त हुन सकेका छैनन् । त्यसको प्रभाव यो खेलमा पनि रह्यो । भुटान गोवा आएको ३–४ दिन भइसकेको छ । अब हामीले पाँच दिनको आराम पाउँछौं र त्यतिबेलासम्म स्थिति अनुकूल हुनेछ ।’ 

नेपालका लागि यो एक प्रकारले राहतपूर्ण नतिजा पनि रह्यो । यस्तो किनभन्दा दुई वर्षअगाडि भुटानले नेपाललाई यसअघिको संस्करणमा गोलरहित बराबरीमा रोकेको थियो । यसपल्ट पनि हार नै सही भुटानी टिम अहिलेको नतिजामा खुसी रह्यो । भुटानी प्रशिक्षक ताइन किम भने, ‘नेपालसँग एक गोलको अन्तरले मात्र हार्नु भनेको हाम्रा रक्षापंक्तिको दृष्टिकोणले जितसरह नै हो । हाम्रै डिफेक्सनमा गोल भएको थियो, यो एउटा भुल बिर्सने हो भने हाम्रो डिफेन्सले नेपालको आक्रमण रोकेकै हो ।’ 

यी दक्षिण कोरियाली प्रशिक्षकको पनि एउटा गुनासो रह्यो । उनका अनुसार यति ठूलो महत्त्वको प्रतियोगिता अगाडि भुटानी टिमले खेल अभ्यासको अवसर नै पाएन । यो नतिजासँगै कम्तीमा भुटानमाथि नेपालको प्रभुत्व कायम रह्यो । महिला फुटबलमा यी दुई टिमबीच अहिलेसम्म ६ खेल भएकोमा ५ खेलमा नेपाल विजयी छ । यी सबै ६ खेलमा नेपालले अहिलेसम्म भुटानलाई एकै गोलको अवसर दिएको छैन । कप्तान तथा गोलरक्षक एन्जिला सुब्बाले यही परम्परालाई अगाडि बढाउँदै यसपल्ट पनि ‘क्लिन सिट’ कायम राखेकी छन् ।  

गोल कि आत्मघाती ?

पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलको निर्णायक मोड २३ औं मिनेटमा आएको थियो, जतिबेला गीता रानाको प्रहारले  ‘डिफेक्ट’ हुँदै पोस्टको दिशा लिएको थियो । त्यसको स्वरुप धेरै हदसम्म आत्मघाती गोल जस्तै थियो, तर म्याच कमिस्नरले त्यसको श्रेय गीतालाई नै दिन कन्ज्युस्याइँ गरेनन् । नेपालका लागि गीताले गरेको गोलसंख्या अब ५ पुगेको छ । प्रशिक्षक न्यौपानेले नेपाली महिला टिमका लागि दोस्रो जित पनि आत्मसात् गरेका छन् । नेपालले उनको नेतृत्वमा खेलेको यो पाँचौं खेल हो । 

भुटानविरुद्ध उनले अनिता लम्जेललाई डेब्यू अवसर पनि दिए । अनितालाई उनले सुरुआती ११ मै सामेल गरेका थिए । तर उनी पहिलो हाफ मात्र टिकिन् र उनको स्थानमा राष्ट्रिय टिममा कमब्याक गरिरहेकी सविना चौधरीले मौका पाइन् । पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक न्यौपोनले अनिताको प्रदर्शनप्रति खुसी व्यक्त गरे । उनले भने, ‘अनिताको प्रदर्शनमा म सन्तुष्ट नै छु । यो खेलमा सावित्रा भण्डारीको अभाव त देखियो, तर यसले नयाँ खेलाडीलाई अवसर दिने काम पनि गरिरहेको छ ।’ 

नेपाली टोली : एन्जिला सुब्बा (कप्तान), पूजा राना, विमला बिक, हीराकुमारी भुजेल (सरु लिम्बू), रेनुका नगरकोटे, अनिता बस्नेत (मीना देउवा), गीता राना, रेखा पौडेल (अनिता केसी), रश्मिकुमारी घिसिङ, अनिता लम्जेल (सबिना चौधरी) र दीपा शाही । 

कान्तिपुर

Link copied successfully