भारतले किर्गिस्तानलाई हराएपछि नेपाल समूह उपविजेता

काभा महिला भलिबल च्याम्पियनसिपको समूह ‘ए’ मा विजेता बनेको भारतले सोमबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

जेष्ठ ११, २०८३

ध्रुव तुलाधर

Nepal becomes group runner-up after India defeats Kyrgyzstan

काठमाडौँ — भारतले लगातार तेस्रो जित हात पार्दै काभा महिला भलिबल च्याम्पियनसिपको समूह ‘ए’ मा विजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले २५–१४, २६–२४, २५–१३ को सेटमा जित हात पारेको हो ।

यो जितसँगै भारत समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत ३ खेलबाट ८ अंक जोडेको थियो । घरेलु टोली नेपाल ७ अंकसहित समूह उपविजेता बन्यो । नेपालले किर्गिस्तान र माल्दिभ्सलाई हराएर ६ तथा भारतसँग ५ सेट खेल्दै एक अंक जोडेको थियो ।

एक खेल जितेको किर्गिस्तानसँग ३ अंक रह्यो भने तीनै खेल हारेको माल्दिभ्स अंकविहीन बन्यो ।

अब, नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आजै साँझ हुने काजकिस्तान र इरानबीचको खेलसँगै समूह ‘बी’को विजेता टुंगो लाग्नेछ । यो समूहको महत्त्वहीन बनेको खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully