सोमबार भएको क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
धनकुटा — धनकुटामा जारी १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा भएको खेलमा बिर्तामोडका प्रदीप बुढाथोकी र कप्तान आशिष चापागाईं चम्किए। खेलको पहिलो हाफमा प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा कप्तान आशिष चापागाईंले लगातार दुई गोल थपेपछि बिर्तामोड बलियो अवस्थामा पुगेको थियो।
गाईघाट युनाइटेडका सुनिल खड्काले दोस्रो हाफमा एक गोल फर्काए पनि त्यसले टोलीको हार टार्न सकेन। सुनिलको गोलपछि आशिष चापागाईंले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिर्तामोडको जित सुनिश्चित गरेका थिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड युनाइटेडका कप्तान आशिष चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ६ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक धनकुटा फुटबल क्लब र भारतको कालिम्पोङस्थित जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
