वुमेन्स साफ च्याम्पियनसिप : नेपालको उपाधि नै एक मात्र लक्ष्य

आठौं संस्करणमध्ये एक अवसरलाई छाडेर नेपाल प्रत्येकपल्ट फाइनल पुगेको छ तर उपाधि भिडन्तमा चुक्ने गरेको छ 

जेष्ठ १०, २०८३

हिमेश

Women's SAFF Championship: Nepal's only goal is the title

काठमाडौँ — नेपाली फुटबलमा पछिल्लो समय छाइरहेको अनिश्चितता, अन्योल र विवादबीच महिलाको राष्ट्रिय टिमले सोमबार वुमेन्स साफ च्याम्पियनसिपको उद्घाटन खेल खेल्दै छ । भारतको गोवामा सुरु हुन लागेको प्रतियोगिताको समूह ‘ए’ मा नेपालको पहिलो प्रतिद्वन्द्वी रहेको छ, भुटान । 

यस्तै असामान्य स्थितिमा मात्रै नेपाली फुटबलले अन्तर्राष्ट्रिय सफलता हात पार्दै आएको इतिहासमा टिकेर के महिला राष्ट्रिय टिमले उपाधिको खडेरी तोड्ने छ त ? उपाधिभन्दा फरक प्रदर्शन नेपाली टिमका लागि एक अर्को असफलता नै रहनेछ । यस्तोमा प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको टिमसामु एक मात्र लक्ष्य हुनेछ, उपाधि जित्ने । 

नेपालको समूहमा रहेको तेस्रो टिम श्रीलंका हो । त्यस अर्थमा नेपालका लागि सेमिफाइनल यात्रा शतप्रतिशत अपेक्षित नै छ, त्यो पनि समूह विजेताकै रूपमा । प्रतियोगितामा टिमको वास्तविक यात्रा भने सेमिफाइनलबाट सुरु हुनेछ र सबैभन्दा महत्त्वपूर्ण प्रश्न रहनेछ, नेपालको अन्तिम चारको प्रतिद्वन्द्वी को हुनेछ ? यसको उत्तर पनि धेरै हदसम्म सहज नै रहेको छ, कि त दुई पटकको डिफेन्डिङ च्याम्पियन बंगलादेश, होइन भने पाँचपल्टको विजेता भारत ।

अर्को समूहबाट सेमिफाइनल पुग्ने सम्भावित यिनै दुई टिम हुन् । यस समूहमा रहेको अर्को टोली माल्दिभ्सलाई बंगलादेश र भारतको तुलनामा निकै कमजोर मानिन्छ । समूह विजेता को हुने हो, यो समूहलाई रोमाञ्चक बनाउने एउटै तथ्य यही हो । यसपल्ट हुन लागेको यो वुमेन्स साफ च्याम्पियनसिपको आठौं संस्करण हो । यसमध्ये एक अवसरलाई छाडेर नेपाल प्रत्येकपल्ट फाइनल पुगेको छ र ती सबै अवसरमा उपाधिको भिडन्तमा पराजित पनि रहेको छ । 

यस्तोमा नेपाल ६ पल्टको उपविजेता पनि हो । सन् ८० को दशकबाट सुरु भएको महिला राष्ट्रिय टिमको यात्रामा उपविजेता हुनुबाहेक अन्य उपलब्धि लेखिएको छैन ।

‘सबै उत्साहित छन्’

प्रतियोगिताको पूर्वसन्ध्यामा गोवामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक न्यौपानेले नेपाली टिम उत्साहित रहेको दाबी गरे । उनले भने, ‘सबै खेलाडी फिट छन् । यस्तै सबै खेलाडी प्रतियोगितालाई लिएर उत्साहित पनि छन् । सम्पूर्ण खेलाडी पूर्णतः तयारी स्थितिमा रहनु हाम्रा लागि ठूलो हो । तयारीका क्रममा कुनै पनि समस्या रहेन । मलाई के पनि विश्वास छ भने सबै खेलाडीको ध्यान प्रतियोगितामै केन्द्रित छ । हाम्रो लक्ष्य उपाधि जित्नु नै हो । हामी जित्नकै लागि अहिले यहाँ आएका छौं ।’

उनले नेपाली टिम लगातार उपविजेतामै सीमित रहनुपरेको भए तापनि यसपल्ट फरक कथा हुने विश्वास पोखे । नेपालले टिमको प्रमुख खेलाडी रहँदै आएकी सावित्रा भण्डारीबिना खेल्दै छ । यस्तै टिममा सविता रानामगर पनि हुने छैनन् । दुवै चोटबाट मुक्त हुने प्रयासमा छन् । प्रशिक्षक न्यौपानेले यिनै खेलाडीलाई समर्पित हुँदै नेपालले राम्रो खेल्न प्रयास गर्ने पनि बताए । उनले ती खेलाडीको स्थानमा यसपल्ट नयाँलाई अवसर दिने पनि बताए । नेपाली टिमकी कप्तान एन्जिला सुब्बाले पनि सबैको ध्यान उपाधि जित्ने रहेको बताइन् ।

उनले भनिन्, ‘हामी धेरैपल्ट उपविजेतामै सीमित रह्यौं तर यसपल्ट हाम्रो ध्यान उपाधिमै हुनेछ ।’ उनले यसअघिका प्रतियोगितामा नेपालको प्रदर्शन इतिहास भइसकेको दाबी गर्दै भनिन्, ‘हाम्रो ध्यान अहिले यही प्रतियोगितामा मात्र छ, यसअघि के भयो, हामी त्यसमा केन्द्रित भएका छैनौं । अहिले तत्कालका लागि हाम्रो नजर भोलिको खेलमा रहेको छ र त्यसमा राम्रो गर्ने उद्देश्य रहनेछ ।’ भुटानविरुद्ध नेपालले अहिलेसम्म पाँचपल्ट खेलेकामा ती सबै खेल साफ च्याम्पियनसिपकै रहेको छ । नेपाल भुटानविरुद्ध यी सबै खेलमा अपराजित रहेको छ ।

तर पछिल्ला साफ च्याम्पियनसिपमा भुटानले नेपाललाई काठमाडौंमै गोलरहित बराबरीमा रोकेको थियो । अन्यथा नेपालले भुटानमाथि यी पाँच खेलमा २३ गोल गरेको छ भने अहिलेसम्म कुनै गोल खर्चेको पनि छैन । कप्तान एन्जिलाले भुटानविरुद्धको पछिल्लो बराबरीलाई सम्झिँदै अब यस्तो नतिजा नआउने पनि विश्वास दिन चाहिन् । भुटान आफैं भने त्यस बराबरीको नतिजाबाट प्रेरित रहनेछ र उसको उद्देश्य पनि सेमिफाइनल प्रवेश रहनेछ । भुटानले पछिल्ला दुई संस्करणमा लगातार सेमिफाइनल यात्रा तय गरेको थियो । यो नै प्रतियोगितामा भुटानको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ ।

नेपालको दोस्रो खेल श्रीलंकाविरुद्ध आइतबार हुनेछ । प्रतियोगिताको अर्को समूहमा आयोजक भारत र बंगलादेशसँगै माल्दिभ्स रहेका छन् । लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्षमा रहेका दुई टिम सेमिफाइनल पुग्नेछन् । नेपाल सन् २०१७ मा भएको प्रतियोगितामा भने सेमिफाइनलमै रोकिएको थियो । त्यति बेला नेपाल भारतको हातबाट पराजित रहेको थियो । यो नै प्रतियोगितामा नेपालको अहिलेसम्मको सबैभन्दा खराब प्रदर्शन रहेको छ । पछिल्ला दुई संस्करणमा नेपालले सेमिफाइनलमा भारतविरुद्ध लगातार जित निकालेको थियो । 

हिमेश

Link copied successfully