धनकुटाको तल्लो टुँडिखेलमा आइतबार आयोजित प्रतियोगितामा सहलेसले राष्ट्रिय जागृति फुटबल क्लब इटहरीलाई पराजित गरेको हो ।
धनकुटा — आइतबारबाट सुरु १८औँ संस्करणको सहिद भीमनारायण स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिराहाको सहलेस युवा क्लब विजयी भएको छ।
धनकुटाको तल्लो टुँडिखेलमा आयोजित प्रतियोगितामा सहलेसले राष्ट्रिय जागृति फुटबल क्लब इटहरीलाई पराजित गरेको हो । निर्धारित ९० मिनेट तथा अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो।
रोमाञ्चक ट्राइब्रेकरमा सहलेस युवा क्लबले राष्ट्रिय जागृतिलाई ४–३ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। सहलेसका लागि दिवाकर चौधरी, फागुराम थारु, डेबिट टो मेसी र सुजन डंगोलले गोल गरे भने रोमन भुजेलको प्रहार पोस्टबाट बाहिरिएको थियो।
राष्ट्रिय जागृतिका तर्फबाट निवास फुयाल, दोर्जे तामाङ र केल्भिनले गोल गरे। सुजन चौधरीको प्रहार पोस्ट बाहिरिएको थियो भने ओलाबी फिजको प्रहार सहलेसका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए।
यस वर्ष प्रतियोगिताको विजेता टोलीले प्राप्त गर्ने पुरस्कार राशि पाँच लाखबाट बढाएर ६ लाख रुपैयाँ पुर्याइएको आयोजकले जनाएको छ। उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।
आइतबारदेखि सुरु प्रतियोगिता जेठ १६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताअन्तर्गत सोमबार गाईघाट फुटबल क्लब उदयपुर र बिर्तामोड फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुने छ।
२०३५ साल माघ २६ गते कोशी टप्पु क्षेत्रमा तत्कालीन राज्यद्वारा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि यो प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको छ ।
