काभा महिला च्याम्पियनसिप : लगातार दुई खेल जित्दै नेपाल सेमिफाइनलमा

आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो

जेष्ठ १०, २०८३

ध्रुव तुलाधर

Kava Women's Championship: Nepal enters semifinals after winning two consecutive matches

काठमाडौँ — घरेलु भूमिमा उपाधि जित्ने लक्ष्य बोकेको नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको नेपालको दोस्रो जित हो । पहिलो खेल भारतसँग हारेको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपालले २५–१२, २५–९, २५–२० को सेटमा विजय नतिजा निकालेको थियो । निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालविरुद्ध तेस्रो सेटमा केही प्रतिरोध गरेपछि माल्दिभ्सले सेटमा प्रभाव जमाउन सकेन । बाहिरिसकेको स्थितिमा हवा रसिदाको कप्तानीमा रहेको माल्दिभ्सले दबाबरहित भएर खेलेको थियो । 

कप्तान निरुताले माल्दिभ्सविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै प्लेयर अफ द म्याचको पुरस्कार जितिन् । अघिल्लो दिनको प्लेयर अफ द म्याच सुमित्रा रेग्मीले आफ्नो लयलाई कायमै राखिन् । मुख्य प्रशिक्षक जगदीश भट्टले माल्दिभ्ससँग दुई सेट जितेर सहज बनिसकेको अवस्थामा तेस्रो सेटमा बेञ्ज प्लेयरहरूलाई मौका दिएका थिए । यो खेलमा एलिसा मानन्धरले डेब्यु गरेकी छन् । भारतविरुद्ध खेल्दा ५ खेलाडीले टोलीबाट डेब्यु गरेका थिए । धेरै सिनियर खेलाडी विदेश पलायन भएका कारण यसपालि ६ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।  

लगातार दुई खेलमा सहज नतिजा निकाल्दै सेमिफाइनल पुगेकामा प्रशिक्षक भट्टले खुसी जनाए । उनले भने, ‘भारतसँग पहिलो गेम हार्‍यौं, तर दोस्रो र तेस्रो खेलमा सहज जितसहित सेमिफाइनल पुगेका छौं । अब हाम्रो लक्ष्य भनेको फाइनल पुगेर उपाधि जित्नु हो ।’

सेमिफाइनलमा लागि नेपालले तीन दिनको विश्राम समय पाएको छ । प्रशिक्षक भट्टले सेमिफाइनलमा जो प्रतिद्वन्द्वी भए पनि फरक नपार्ने बताउँदै विश्रामको समयमा अरू टिमको गेमको अध्ययन गर्दै आफूलाई बलियो पार्ने बताए । 

कप्तान निरुताले नयाँ युवा खेलाडीको प्रदर्शनमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘टोलीमा युवा खेलाडीले जति प्रदर्शन गरेका छन्, त्यसले टोलीको मनोबल उकासिएको छ । हौसला बढेको छ । उनीहरूले सियिनरको अभाव महसुस हुन दिएका छैनन् । यसमै खुसी छु ।’ 

यस समूहमा दुई खेल जितेको नेपालले ७ अंक बटुल्दै अन्तिम चारमा स्थान बनाएको हो । नेपालले भारतसँग ३–२ को सेटमा हार्दा एक अंक बटुलेको थियो । दुई खेल जितेको भारत ५ अंकसहित दोस्रो र एक खेल जितेको किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छन् । तीनै खेल हारेको माल्दिभ्स अंकविहीन भएर बाहिरियो । अब समूहमा भारत र किर्गिस्तानको खेल सोमबार हुनेछ । यो खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोली तय गर्नेछ । भारतले सोझो सेटमा जित पाएमा समूह विजेता बन्नेछ भने पाँच सेटमा पुगेर किर्गिस्तानले खेल जितेको खण्डमा दुवै टिमको समान ६ अंक बन्नेछ । यसले अन्तिम चार पुग्ने टोली सेटका आधारमा तय गर्नुपर्ने हुनेछ । 

अर्को समूहको खेल नसकिएका कारण नेपालको पनि सेमिफाइनल प्रतिद्वन्द्वीको टुंगो लागेको छैन ।

त्यस्तै, आइतबारै समूह ‘बी’ मा इरान र काजकिस्तानले लगातार दोस्रो जित हासिल गरेका छन् । इरानले श्रीलंका र काजकिस्तानले बंगलादेशलाई हराएको थियो । दुवैले सोझो सेटमा जित पाएका छन् । 

काभाको अनुभवी टोली इरानले श्रीलंकालाई २५–१६, २५–१३, २५–११ को सेटमा हराएको हो । इरानले उद्घाटन दिनको खेलमा बंगलादेशविरुद्ध जित पाएको थियो । 

आइतबार काजकिस्तानले बंगलादेशलाई सहजै सोझो सेटमा हराएको हो । काजकिस्तानले २५–५, २५–९, २५–११ ले जित पाएको थियो । टोलीले शनिबार श्रीलंकालाई हराएको थियो । यो समूहबाट इरान र काजकिस्तान दुवै सेमिफाइनलमा स्थान बनाएका छन् । दुई खेल जितेर समान ६ अंक बनाएका यी दुई टोलीले सोमबार समूह विजेता बन्नका लागि प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एसियाली टोलीद्वय श्रीलंका र बंगलादेशले भने समूहको अन्तिम खेलमा प्रतिष्ठाको जित खोज्नेछन् ।

सोमबारका खेल :

- बंगलादेशविरुद्ध श्रीलंका

- भारतविरुद्ध किर्गिस्तान

- इरानविरुद्ध काजकिस्तान

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully