अघिल्लो दिन प्रतियोगिताको दाबेदार भारतसँग ३–२ सेट अन्तरले पराजित नेपालले दोस्रो खेलमा लय समातेको हो ।
काठमाडौँ — घरेलु कोर्टमा नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा शनिबार किर्गिस्तानलाई पराजित गरेको छ ।
अघिल्लो दिन प्रतियोगिताको दाबेदार भारतसँग ३–२ सेट अन्तरले पराजित नेपालले दोस्रो खेलमा लय समातेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपालले सोझो सेटमा जित हात पार्दा २५–१८, २५–२०, २५–१३ को नतिजा निकालेको थियो । खेलमा नेपालकी प्लेयर अफ द म्याच सुमित्रा रेग्मी भइन् । उनले सर्वाधिक १९ अंक बटुलेकी थिइन् ।
समूह ‘ए’ मा भारत लगातार दुई खेल जितेर बलियो बनिसकेको स्थितिमा नेपाललाई अगाडि बढ्न किर्गिस्तानविरुद्ध जित अत्यावश्यक थियो । निरुता ठगुन्नाको कप्तानीमा रहेको टोलीले त्यहीअनुरुप प्रदर्शन गर्दा जित सहज बनेको थियो ।
निरुताको कप्तानीमा नेपालले पाएको यो पहिलो जित पनि हो । अब समूहको अन्तिम खेलमा नेपालले आइतबार माल्दिभ्सको सामना गर्नेछ । माल्दिम्सले दुई खेलमा पराजित भएर सेमिफाइनल दौडबाट बाहिरिसकेको स्थिति छ ।
माल्दिभ्स शनिबारै भारतसँग सोझो सेटमा पराजित भएको थियो । दिनको दोस्रो खेलमा भारतले २५–९, २५–१४, २५–१७ को सोझो सेटमा जित निकाल्दै आफ्नो सेमिफाइनल यात्रा बलियो बनाएको थियो ।
माल्दिभ्स शुक्रबार किर्गिस्तानसँग पनि सोझो सेट २५–१९, २५–१६, २५–२२ ले पराजित भएको थियो ।
यस समूहमा दुई खेल जितेको भारत ५ अंकसहित शीर्षस्थानमा छ । समान दुई खेलबाट नेपालको ४ अंक, किर्गिस्तानको ३ अंक हुँदा माल्दिभ्स अंकविहीन छ ।
शनिबार पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत काजकिस्तानले श्रीलंकालाई सोझो सेटमा हराएको थियो । काजकिस्तानले २५–९, २५–१८, २५–१५ को नतिजा निकालेको थियो । यस समूहका अरू दुई टोलीमा बंगलादेश र इरान हुन् । पहिलो दिन इरानले बंगलादेशविरुद्ध सोझो सेटमा जित पाएको थियो ।
नेपाल भलिबल संघको आयोजनामा भइरहेको काभा च्याम्पियनसिपमा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागिता छ ।
