युरोपा लिगका ‘राजा’ एमरी

इटालीका जियोभानी ट्रापाटोनी र कार्लो एन्सेलोट्टी तथा पोर्चुगलका जोसे मोउरिन्होसँगै इमरी पनि सबैभन्दा बढी युरोपेली फाइनल जित्ने प्रशिक्षक भएका छन् ।

जेष्ठ ९, २०८३

एपी

Emery, the 'king' of the Europa League

What you should know

इस्तानबुल — इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले बुधबार युरोपा लिग जितेपछि प्रशिक्षक उनाइ इमरीले आफूलाई यो प्रतियोगिताका राजा साबित गरेका छन् । भिल्लाले युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता जित्न जर्मनीको फ्रेइबर्गलाई सजिलै ३–० ले हराएको हो । इटालीका जियोभानी ट्रापाटोनी र कार्लो एन्सेलोट्टी तथा पोर्चुगलका जोसे मोउरिन्होसँगै इमरी पनि सबैभन्दा बढी युरोपेली फाइनल जित्ने प्रशिक्षक भएका छन् ।

उनी एन्सेलोट्टीसँगै पाँच फरक अवसरमा युरोपेली उपाधि जित्ने प्रशिक्षक भएका छन् । भिल्लाका लागि योउरी टेलेमन्सले गोलको खाता खोलेपछि इमिलिनो बुएन्डिआले पहिलो हाफको अन्त्यतिर दोस्रो गोल थपे । मोर्गन रोर्जसले दोस्रो हाफमा तेस्रो गोल गरे । यो नतिजाले युरोपा लिग जित्न स्पेनी प्रशिक्षक इमरी विशेषज्ञ रहेको प्रमाणित भएको छ । उनले सेभियाका लागि सन् २०१४ देखि २०१६ सम्म लगातार तीनपल्ट युरोपा लिग जितेका थिए ।

सन् २०२१ मा उनले यस्तै सफलता भिल्लारियलका लागि हात पारेका थिए । यसरी उनले तेस्रो क्लबका लागि युरोपा लिगा जितेका छन् । भिल्लाको जितपछि उनले भने, ‘युरोपका प्रतियोगिताका लागि म जहिले पनि कृतज्ञ रहने छु । चाहे त्यो कन्फ्रेन्स लिग र च्याम्पियन्स लिग होस् वा युरोपा लिग होस् । भिल्लाले यो प्रतियोगिता जित्न धेरै मिहिनेत गरेको छ । यो प्रतियोगिता जित्नकै लागि हामीले गम्भीर फुटबल पनि खेलेका छौं ।’

सन् २०१९ सम्म पनि भिल्ला इंग्लिस फुटबलको दोस्रो डिभिजनमा थियो । तर बुधबारको फाइनलमा उपाधिका लागि यही टिम बलियो प्रत्याशी थियो । सन् २०२२ मा भिल्लाले प्रशिक्षकका लागि इमरीसँग अनुबन्ध गरेको थियो । उनी टिममा आउँदा भिल्ला रेलिगेसन क्षेत्रबाट एकै स्थान मात्र अगाडि थियो र फेरि दोस्रो डिभिजनमा झर्ने डर कायम थियो । तर, उनले भिल्लालाई इंग्ल्यान्डमा मात्र नभएर युरोपकै शक्ति बनाएका छन् ।

गत सिजन पनि भिल्लाले च्याम्पियन्स लिग खेलेको थियो । लगत्तै अर्को सिजन भिल्ला युरोपा लिगका लागि छनोट भएको थियो । अर्कोतर्फ भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिग कप जितेको थियो र त्यसयता उपाधिको खडेरीबाट गुज्रेको थियो । भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो । त्यति बेला सन् १९८२ मा भिल्लाले युरोपियन कप जितेको थियो । त्यसैले अहिलेको सफलतामा भिल्लाका खेलाडी पनि इमरीप्रति कृतज्ञ छन् ।

फाइनलपछि कप्तान जोन म्याकगिनले भने, ‘यी प्रशिक्षक छन् भने सबै सम्भावना सम्भव हुन्छ । जसरी खेलेका छौं, त्यसले हाम्रो टिम कस्तो छ प्रमाणित भएको छ । हामीले एकजुट भएर खेल्यौं र यसमा गर्व पनि छ । हाम्रो खेल जीवनकै यो क्षण सबैभन्दा बढी सम्झनालायक रहनेछ । ‘सिरियल विनर’ को छवि बनाएका इमरीले तीन फरक देशको क्लबका लागि उपाधि जितेको कीर्तिमान बनाएका छन् । उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि पनि उपाधि जितेका छन् ।

एपी

Link copied successfully