टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई ३ सय १७ रन बनायो ।
What you should know
काठमाडौँ —
नेपालले क्रिकेट विश्वकप लिग २ मा शीर्ष स्थानको अमेरिकालाई ३ सय १८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई ३ सय १७ रन बनायो ।
इशान पाण्डेले अर्को एउटा उत्कृष्ट इनिङ्स खेलेपछि नेपाल राम्रो चुनौती तेस्र्याउन सफल भएको हो । कुशल भुर्तेल र आसिफ शेखको आक्रामक सुरुआतपछि इशानले ठोस इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले छिटो गतिमा अर्धशतक बनाए ।
जसको कारण नेपाल कीर्तिपुर मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाउन सफल भयो । अघिल्लो महिना ओमानविरुद्ध नेपालले ८ विकेट गुमाई ३ सय १० रन बनाएको थियो । कीर्तिपुर मैदानकै उच्च स्कोर भन्दा नेपाल ४ रनले पछाडि रहयो ।
कुशल र आसिफले १० ओभरमा विना क्षति ६२ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । १३ औं ओभरमा शुभम रन्जनेले कुशललाई २९ रनमा आउट गरी यो साझेदारी तोडे । कुशलले ३९ बल खेली ५ चौका प्रहार गर्दै २९ रन बनाए ।
आफ्नो ओभरको पहिलो स्पेलमा २९ रन खर्चेका रुशिल उगरकरले दोस्रो स्पेलको पहिलो ओभरमै शर्ट पिच बलमा आसिफलाई ४३ रनमा क्याच गराए । आसिफ आउट हु“दा नेपालको १९ औं ओभरमा ८४ रन रहेको थियो । आसिफले ५७ बल खेली ६ चौका प्रहार गरे ।
नेपाल ३० ओभरमा १३०–२ को स्थितिमा रहेको थियो । कप्तान रोहित पौडेल र इशान पाण्डेले तेस्रो विकेटमा १ सय १० रनको साझेदारी गरे । रोहितलाई मिलिन्द कुमारले एलबीडब्लु आउट गरे । रोहितले ५९ बल खेली २ चौका र १ छक्कासहित ४६ रन बनाए ।
इशानले ८३ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरी ८४ रन बनाए । ३ खेलमा उनको यो दोस्रो अर्धशतक र उच्च स्कोर पनि हो । गुलशन झाले १२ बल खेली १ छक्कासहित १५ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले २९ बलमै अर्धशतक बनाएपछि नेपालले ३ सय रनको स्कोर पार गरेको थियो । दीपेन्द्रले ३५ बल खेली समान ४ चौका र छक्कासहित कुल ५९ रन बनाए । दीपेन्द्रसहित सोमपाल कामी ५, नन्दन यादव शुन्यमा रनआउट भए । आरिफ शेख १० बल खेली २ छक्का प्रहार गर्दै १८ रनमा अविजित रहे ।
अमेरिकाका लागि रन्जनेले ३ विकेट लिए । उनले १० ओभरमा ६१ रन खर्चे । मिलिन्द र उगरकरले १–१ विकेट लिए । उगरकरले १ विकेट लिनेक्रममा ९ ओभरमा ८१ रन खर्चे ।
