मलेसियाविरुद्ध नेपाललाई ८३ रनको लक्ष्य 

टस जितेर ब्याटिङ रोजेको मलेसियाले क्वालालम्पुर स्थित बायुमास ओभल मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनायो ।

जेष्ठ ८, २०८३

विनोद पाण्डे

Nepal set 83-run target against Malaysia

काठमाडौँ —  

नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल जित्न ८३ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले क्वालालम्पुर स्थित बायुमास ओभल मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनायो । 

एइना हसिमले १७, धानुश्री मुहुनानले १५ र एरिएना नतासाले अविजित १३ रन बनाए । मलेसियाको इनिङ्समा केवल ५ चौका रहेको छ । 

नेपालबाट कविता कु“वर, रिया शर्मा र रुविना क्षेत्रीले २–२ विकेट लिइन् । कविताले ४ ओभरमा २ मेडन राख्दै १०, रियाले ४ ओभरमा १ मेडन राख्दै १४ र रुविनाले २ ओभरमा ५ रन खर्चे । पुजा महतो र सीता रानामगरले १–१ विकेट लिइन् । 

नेपालले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई २ विकेटले पराजित गरेको थियो । दुबै टोली मलेसियामै हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता र एसीसी प्रिमियर कपको तयारीमा यो खेल खेलिरहेका छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully