इशान पाण्डे र दीपेन्द्र ऐरीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लिग २ मा अमेरिकालाई १२२ रनले हराउँदै गौरवमय सफलता हात पारेको छ।
What you should know
काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा शीर्ष स्थानको अमेरिकालाई १ २२ सय रनले पराजित गरेको छ । ३ सय १८ रनको लक्ष्य लिएर अमेरिका शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ४१.२ ओभरमा १ सय ९५ रनमा अलआउट भयो ।
नेपालले जितसहित घरेलु मैदानमा लिग २ को यात्रा टुंग्याएको हो । नेपालले यस शृंखलाको ४ खेलमा ३ मा विजय हात पार्यो । स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल २ रनले पराजित भएको थियो । त्यसपछि नेपालले अमेरिकालाई २ र स्कटल्यान्डलाई १ पटक पराजित गर्न सफल भयो ।
२०२४–२६ को लिग २ सर्कलमा नेपाल १२ मध्येको ७ खेल जित्न सफल भयो । नेपालले २८ खेलमा ११ औं जित हात पार्दै २४ अंकसहित पाँचौँ स्थानमा छ । अमेरिका २८ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्यान्डको पनि ३२ खेलमा ३८ अंक छ, तर नेट रन रेटका कारण अमेरिकाभन्दा पछाडि छ ।
विशाल लक्ष्य लिएर अमेरिकालाई पहिलो ओभरमै झट्का लाग्यो, जब सोमपाल कामीले स्मित पटेललाई विकेटको पछाडि क्याच गराए । सायन जहाँगिर र सेहन जयसूर्याले दोस्रो विकेटमा तेस्रो विकेटमा ५३ रनको साझेदारी गरे । सन्दीप लामिछानेले जहाँगिरलाई २७ रनमा विकेटको पछाडि क्याच गराए । जहाँगिरले ३४ बल खेली १ चौका र २ छक्कासहित २७ रन बनाए ।
अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले जयसुर्यालाई २२ रनमा बोल्ड गरे । जयसुर्याले २७ बल खेली ६ चौका प्रहार गरी २६ रन बनाए । त्यसपछि सन्दीपले मिलिन्द कुमारलाई १२ र कप्तान साइतेजा मुकामल्लाई २२ रनमा र ललित राजवंशीले शुभम रन्जनेलाई २ र हरमित सिंहलाई शुन्यमा आउट गरे ।
सञ्जय कृष्णमुर्थीले ५६ रन बनाउँदै छोटो समयका लागि अमेरिकालाई आशा देखाएका थिए । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । उनलाई गुलशन झाले बोल्ड गरे । गुलशनले सौरभ नेत्रवलकरलाई १० र दीपेन्द्रले नोसथुस केन्जिगेलाई २९ रनमा आउट गरे । केन्जिगेले ५० बल खेली ४ चौका प्रहार गरे ।
नेपालबाट सन्दीपले ३, ललित, दीपेन्द्र र गुलशनले २–२ तथा सोमपालले १ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ३०, ललितले १० ओभरमा ३८, दीपेन्द्रले ४.२ ओभरमा २६ र गुलशनले ६ ओभरमा ३६ रन खर्चे ।
यसअघि टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई ३ सय १७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो उच्च स्कोर हो । अघिल्लो महिना ओमानविरुद्ध नेपालले ८ विकेट गुमाई ३ सय १० रन बनाएको थियो । कीर्तिपुर मैदानकै उच्च स्कोर भन्दा नेपाल ४ रनले पछाडि रहयो ।
इशान पाण्डेले अर्को एउटा उत्कृष्ट इनिङ्स खेलेपछि नेपाल राम्रो चुनौती दिन सफल भएको हो । कुशल भुर्तेल र आसिफ शेखको आक्रामक सुरुआतपछि इशानले ठोस इनिङ्स खेले भने दीपेन्द्रले छिटो गतिमा अर्धशतक बनाए ।
कुशल र आसिफले १० ओभरमा बिनाक्षति ६२ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । १३ औं ओभरमा रन्जनेले कुशललाई २९ रनमा आउट गरी यो साझेदारी तोडे । कुशलले ३९ बल खेली ५ चौका प्रहार गर्दै २९ रन बनाए ।
आफ्नो ओभरको पहिलो स्पेलमा २९ रन खर्चेका रुशिल उगरकरले दोस्रो स्पेलको पहिलो ओभरमै शर्ट पिच बलमा आसिफलाई ४३ रनमा क्याच गराए । आसिफ आउट हुँदा नेपालको १९ औं ओभरमा ८४ रन रहेको थियो । आसिफले ५७ बल खेली ६ चौका प्रहार गरे ।
नेपाल ३० ओभरमा १३०–२ को स्थितिमा रहेको थियो । कप्तान रोहित पौडेल र इशान पाण्डेले तेस्रो विकेटमा १ सय १० रनको साझेदारी गरे । रोहितलाई मिलिन्दले एलबीडब्लु आउट गरे । रोहितले ५९ बल खेली २ चौका र १ छक्कासहित ४६ रन बनाए ।
इशानले ८३ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरी ८४ रन बनाए । ३ खेलमा उनको यो दोस्रो अर्धशतक र उच्च स्कोर पनि हो । गुलशनले १२ बल खेली १ छक्कासहित १५ रन बनाए ।
दीपेन्द्रले २९ बलमै अर्धशतक बनाएपछि नेपालले ३ सय रनको स्कोर पार गरेको थियो । दीपेन्द्रले ३५ बल खेली समान ४ चौका र छक्कासहित कुल ५९ रन बनाए । दीपेन्द्रसहित सोमपाल ५, नन्दन यादव शून्यमा रनआउट भए । आरिफ शेख १० बल खेली २ छक्का प्रहार गर्दै १८ रनमा अविजित रहे ।
अमेरिकाका लागि रन्जनेले ३ विकेट लिए । उनले १० ओभरमा ६१ रन खर्चे । मिलिन्द र उगरकरले १–१ विकेट लिए । उगरकरले १ विकेट लिनेक्रममा ९ ओभरमा ८१ रन खर्चे ।
