अमेरिकाविरुद्ध नेपाल ब्याटिङमा

स्कटल्यान्डविरुद्ध सोमबार ६ विकेटको विजय हात पारेको टोलीबाट नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन ।

जेष्ठ ८, २०८३

विनोद पाण्डे

Nepal bats against America

What you should know

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग–२ मा शीर्ष स्थानको अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाका कप्तान साइतेजा मुकामल्लाले शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएका हुन् ।

मैदान भिजेका कारण टस आधा घन्टा ढिला ९.३० बजे भएको थियो । तर कुनै ओभर भने घटाइएको छैन । स्कटल्यान्डविरुद्ध सोमबार ६ विकेटको विजय हात पारेको टोलीबाट नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् । 

अमेरिकाले बुधबार स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेपछि कीर्तिपुरमा लिग २ को ७ खेलपछि पहिलो विजय हात पारेको हो । यस शृंखलाका अघिल्ला दुई खेलमा अमेरिकालाई स्कटल्यान्ड र नेपालले पराजित गरेका थिए । लिग २ को पछिल्लो सर्कल २०२० मा आउँदा पनि अमेरिका कीर्तिपुरमा नेपाल र ओमानसँग २–२ खेलमा पराजित भएको थियो । 

स्कटल्यान्डलाई अघिल्लो खेलमा पराजित गरेपछि अमेरिका शीर्ष स्थानमा उक्लिएको थियो । अमेरिकाको २७ खेलमा ३८ र स्कटल्यान्डको ३२ खेलमा ३८ अंक छ, तर अमेरिका राम्रो नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल २७ खेलमा २२ अंकका साथ छैटौं स्थानमा छ । 

सन् २०२४ बाट सुरु भई २०२६ मा टुंगिने आठ राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्ने कार्यक्रम रहेको छ । अमेरिका यसअघि डिफेन्डिङ च्याम्पियन स्कटल्यान्डसँग २ रनले र नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

अमेरिकाविरुद्धको सो खेलमा १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा १ सय ४५ रन जोडेर विजयको आधार बनाएका थिए । कुशलले पुनरागमन खेलमा अविजित १ सय २० रन बनाएका थिए भने आसिफले ५८ रन बनाएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully