रूपन्देही सुपरलिगको उपाधिका लागि भिड्दै खुकुरी र वेष्टर्न क्लब

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९० रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

जेष्ठ ८, २०८३

माधव ढुंगाना

Khukuri and Western Club vie for Rupandehi Super League title

भैरहवा — भैरहवामा जारी पञ्चकन्या रुपन्देही सुपरलिगको उपाधिका लागि लुम्बिनी खुकुरी क्लब र वेष्टर्न क्रिकेट क्लब भिड्ने भएका छन् । 

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९० रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यसअघि, बिहीबारको खेलबाट वेष्टर्न क्रिकेट क्लब फाइनल पुगेको थियो । उपाधिका लागि यी दुई टिम शनिबार भिड्ने छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरी ४९.५ ओभरमा अलआउट हुँदै २५४ रनको बलियो योगफल खडा गर्‍यो । उसका लागि सन्दीप रजालीले ६९, शंकर रानाले ४७, निश्चल चौधरीले ४३, समीर अली मुसलमानले २४, शाह आलमले २३, सेजाद धोवीले १५ र सुजन रानाभाटले ११ रनको योगदान दिएका थिए ।  

बलिङमा मेलवर्नका अशोक धामीले ४, दिपेश श्रेष्ठ र आरिफ अहमदले २–२ तथा रमेश कुर्मीले १ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको मेलवर्नले ३८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १६४ रन मात्रै बनाउँदै पराजित भयो । उसका लागि विपिन आचार्यले ५८, अस्मान थारुले २४, दिपेश श्रेष्ठले १७, मनिष थापा र संजय थापाले १४–१४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ४, शाह आलमले २ तथा दुर्गेश गुप्ता, बैतुल्लाह खान, शंकर राना र सुजन रानाभाटले १–१ विकेट लिए । सन्दीप रजाली प्लेयर अफ द म्याच भई पुरस्कृत भए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully