नेपालले भारतविरुद्ध विगतमा पनि यस्तै चुनौती प्रस्तुत गरेर अन्तिममा हार सामना गर्दै आएको इतिहास छ ।
काठमाडौँ — फेरि पाँच सेट खेल्दै नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा भारतसँगको खेल गुमाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार सुरु च्याम्पियनसिपमा नेपालको पहिलो खेल नै निकट प्रतिद्वन्द्वी भारतविरुद्ध थियो । घरेलु कोर्टमा नेपालले सुरुआती अग्रता लिनुका बावजुद पुनरागमन गर्दै खेल पाँच सेटसम्म लम्ब्याएको थियो ।
पहिलो सेट २५–२१ सेट आफ्नो पक्षमा पार्दै निरुता ठगुन्नाको कप्तानीमा रहेको टोलीले घरेलु दर्शकलाई उत्साही बनाएको थियो । त्यसपछि नेपालले लगातार दुई सेट २०–२५, १९–२५ ले गुमायो । चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै नेपालले खेल २–२ को बराबरीमा ल्यायो । नेपालले अन्तिम तथा निर्णायक सेट १५–९ ले गुमाएपछि खेल भारतको पक्षमा ३–२ सेटले गएको हो ।
नेपालले भारतविरुद्ध विगतमा पनि यस्तै चुनौती प्रस्तुत गरेर अन्तिममा हार सामना गर्दै आएको इतिहास छ । त्यसमा १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पनि पर्छ । यही कोर्टमा नेपालले ३–२ कै सेटमा पराजय भोगेर ऐतिहासिक स्वर्ण जित्ने मौका गुमाएको थियो ।
नेपाली टोली आधा नयाँ खेलाडी लिएर कोर्टमा उत्रिएको थियो । सिनियर खेलाडीहरू विदेश पलायन भएपछि यसपालि टोलीमा ६ नयाँ खेलाडीले स्थान बनाएका थिए ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले टोलीको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताए । उनले भने, ‘हामीले राम्रो प्रतिस्पर्धा दिएका हौं । युवा खेलाडीले राम्रो प्रदर्शन गरे, त्यसबाट खुसी छु । विपक्षीलाई उचाइको एडभान्टेज भयो, उनीहरूले त्यसको फाइदा उठाए ।’
भारतसँगका पछिल्ला ५ खेल पनि यसरी नै पाँचौं सेटमा पुगेर हार्नुपरेको स्मरण गर्दै प्रशिक्षक भट्टले भने, ‘आज पनि त्यही स्थिति भयो ।’ उनले अब फाइनलमा भारतसँगै प्रतिस्पर्धा गरेर उपाधि जित्न चाहेको बताए ।
कप्तान निरुता भने पोस्टम्याच कन्फ्रेन्समा भावुक भइन् । आफूले अपेक्षाअनुरुप प्रदर्शन गर्न नसकेको के मात्र भन्न सकेकी थिइन्, त्यसपछि उनको गला अवरुद्ध भएको थियो । त्यसपछि प्रशिक्षक भट्टले खेलबारे बोलेका थिए ।
भारतविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट सुनीता खत्री, मीना सुनुवार, सलिना बुढामगर, जसना महतो, बसन्ती साउदले डेब्यु गरेका थिए । अन्य खेलाडीमा उषा भण्डारी, कामना विष्ट, रिमा कुँवर, प्रगति नाथ, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, सुमित्रा रेग्मी र अलिशा मानन्धर छन् ।
त्यसअघि भएको उद्घाटन खेलमा इरानले बंगलादेशलाई २५–६, २५–९, २५–१० को सोझो सेटमा हराएको थियो । इरानकी सवनम अलिखानीको कप्तानीमा रहेको इरान समूह ‘बी’ मा रहेको टोली हो । बंगलादेशले सविना खातुनको कप्तानीमा खेलेको थियो ।
च्याम्पियनसिपमा एफआईभीबीको सेन्ट्रल एसियाभित्र रहेका नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको छ ।
