प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको बाराले फाइनलमा एकतर्फी जित निकाल्दै मधेश क्रिकेट लिग सिजन–२ को उपाधि हात पारेको हो।
पर्सा — मधेश क्रिकेट लिग सिजन–२ को उपाधि बाराले जितेको छ। शुक्रबार वीरगन्जस्थित टिबी शाह क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा धनुषालाई १ सय २८ रनले पराजित गर्दै बारा च्याम्पियन बनेको हो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आएको बाराले फाइनलमा एकतर्फी जित निकाल्दै मधेश क्रिकेट लिग सिजन–२ को उपाधि हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको बाराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रनको विशाल योगफल तयार गरेको थियो।
बाराका लागि सुशान्त सिंहले ४३ बलमा ५१ रन बनाए भने अर्निको यादवले ३२ बलमा अर्धशतकीय ५० रनको योगदान दिए। धनुषाका आयुष यादव २९ रन दिई २ र रुपेश यादवले ४१ रन दिई २ विकेट लिए।
१ सय ९४ रनको लक्ष्य पछ्याएको धनुषा १४ दशमलव ४ ओभरमै ६५ रनमा समेटियो। उसका अभिजित मण्डलले २२ बलमा अविजित १७ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्।
हिमान्शु दत्ताले १५ बलमा १४ रन बनाए । बाराका कमल गुप्ताले १३ रन दिई ३ विकेट लिए भने सिराज हवारीले ५ रन दिई २ विकेट हात पारे। प्रतियोगिताको ‘प्लेयर अफ द म्याच’ अरनिको यादव घोषित भए।
