रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब फाइनलमा

बिहीबार भएको सेमिफाइनलमा वेष्टर्नले तिरुपति क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै सुपरलिगको फाइनलमा पुगेको हो ।

जेष्ठ ७, २०८३

माधव ढुंगाना

Rupandehi Super League: Western Cricket Club in the final

भैरहवा — वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पन्चकन्या रुपन्देही सुपरलिग’को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा वेष्टर्नले तिरुपति क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै सुपरलिगको फाइनलमा पुगेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०९ रनको बलियो योगफल बनायो । उसका लागि सन्देश थापाले अविजित ५२, दिपेश रोकाले ३४, सुमित नेवारले ३३, रन्जित खत्रीले २४, कलम अली मुसलमानले २३ र प्रज्जवल थापाले १० रन बनाए ।

बलिङमा तिरुपतिका दिवान पुन र बसिर अहमदले २–२ तथा मोहम्मद हुसेन गद्दी, तुलबहादुर थापा, सन्दीप मौर्य र आकाश त्रिपाठीले १–१ विकेट लिए । जवाफी ब्याटिङमा आएको तिरुपति ३२ ओभर १ बलमा अलआउट हुँदै १४४ रन मात्रै बनायो ।

उसका लागि मोहम्मद हुसेन गद्दीले २७, बसिर अहमदले २५, दिवान पुनले २२, आकाश त्रिपाठी, विजय खनाल र तुलबहादुर थापाले १८–१८ रन बनाए । बलिङमा वेष्टर्नका कलम अली मुसलमान र अभिशेष गौतमले ३–३ तथा सन्देश थापा, देव खनाल र सुझाव थापाले १–१ विकेट लिए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याच भई पुरस्कृत भए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully