धनकुटामा जेठ १० गतेदेखि भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने

सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले बिहीबार धनकुटामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तथा व्यवस्थापनबारे जानकारी दिएको हो।

जेष्ठ ७, २०८३

विनोद घिमिरे

Bhim Narayan Gold Cup football tournament to be held in Dhankuta from 10th Jestha

What you should know

धनकुटा — जिल्ला सदरमुकामस्थित तल्लो टुँडिखेलमा आगामी जेठ १० गतेदेखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता जेठ १६ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले बिहीबार धनकुटामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तथा व्यवस्थापनबारे जानकारी दिएको हो।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीलाई ६ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ।

आयोजक संस्थाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठका अनुसार प्रतियोगितामा आयोजक टोलीसहित आठ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा भीमनारायण स्मृति प्रतिष्ठान, बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी, बेलबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड फुटबल क्लब उदयपुर, सहलेस युवा क्लब सिरहा, सादोबाटो युथ क्लब ललितपुर र जर्जियन फुटबल क्लब सहभागी हुनेछन्।

प्रतियोगिताको १८औं संस्करण सञ्चालनका लागि करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ। खर्च व्यवस्थापनका लागि धनकुटा नगरपालिकालगायत विभिन्न स्थानीय तह तथा प्रायोजक संस्थाहरूले सहयोग गर्ने बताइएको छ।

गत वर्ष प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। यस वर्ष पुरस्कार राशि बढाएर ६ लाख रुपैयाँ पुर्‍याइएको आयोजकले जनाएको छ। उपविजेताको पुरस्कारसमेत २ लाख ५० हजार रुपैयाँबाट बढाएर ३ लाख बनाइएको छ।

सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु गरिएको प्रतियोगिता अहिले १८औं संस्करणसम्म पुगेको छ। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully