रूपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लब नेपथ्य तिलोत्तमासँग पराजित 

बुधबार नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले बुद्धलाई १ सय १० रनले पराजित गर्दै जित निकालेको छ । पराजित भएसँगै बुद्ध क्लब रेलिगेशनमा परेको हो ।

जेष्ठ ६, २०८३

माधव ढुंगाना

Rupandehi Super League: Buddha Cricket Club defeated by Nepathya Tilottama

काठमाडौँ — पञ्चकन्या रुपन्देही सुपरलिगमा लिग चरणका खेलहरु बुधबारदेखि सकिएका छन् । लिग चरणको ‘ए’ डिभिजनको अन्तिम खेलमा पराजित भएपछि बुद्ध क्रिकेट क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

बुधबार नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले बुद्धलाई १ सय १० रनले पराजित गर्दै जित निकालेको छ । पराजित भएसँगै बुद्ध क्लब रेलिगेशनमा परेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर २ सय १७ रन बनायो ।

उसका लागि प्रतीक भट्टराईले ६२, लक्ष्मण कुमालले ३२, अमन बोहराले २७, मौसम ढकालले २३, कुशल ढकालले १८ र रोशन घिमिरेले ११ रनको योगदान गरे । बलिङमा बुद्धका दिलसाद अली र अमित अग्रहरीले ३–३ तथा हरिकेश मुराउले २ र गौतम केसीले १ विकेट लिए ।

जवाफी ब्याटिङमा बुद्धले २१ ओभर १ बलमा अलआउट हुँदै १ सय ७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमालले ४, सन्दीप यादव र आशुतोष पाण्डेले २–२ तथा प्रतीक भट्टराई र रोशन घिमिरेले १–१ विकेट लिए । 

बुद्धका अजय त्रिपाठीले ३६, प्रवेज अन्सारीले २०, हरिकेश मुराउले १२ र अमित अग्रहरीले १० रन बनाए ।

खेलमा लक्ष्मण कुमाल प्लेयर अफ द म्याच भई १२ सय रुपैयाँ प्राप्त गरे । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully