प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छ । यो रकम स्कुल स्त्तरीय प्रतियोगितामा सबैभन्दा ठुलो भएको आयोजकको दाबी छ ।
काठमाडौँ — नेपाल स्कुल फुटबल लिग यू–१६ को दोस्रो संस्करण जुन ६ बाट सुरु हुने भएको छ । थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा धापाखेल स्थित जेम्स स्कुलको फुटबल मैदानमा प्रतियोगिता हुनेछ ।
डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा जेम्स स्कुलले जेम्स थन्डर बोल्ट्स, डिएभी स्कुलले सुपर डाँफेज, कान्जिरोवा स्कुलले एफसी माउन्ट कान्जिरोवा, लिटिल एन्जल्सले एलए ड्रागन, रातो बंगलाले रेड पान्डाज, एक्सेलसर स्कुलले एक्सेलर इगल्स, सेन्ट जेभियर्स स्कुलले सगरमाथा फुटबल क्लब र पाठशाला नेपाल फाउन्डेसनले पाठशाला राइनोजको नाममा खेल्ने छ ।
लिग का शीर्ष दुई टोली फाइनल खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छ । यो रकम स्कुल स्त्तरीय प्रतियोगितामा सबैभन्दा ठुलो भएको आयोजकको दाबी छ ।
व्यक्तिगत विधामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाड, उत्कृष्ट प्रशिक्षक र फेयर प्लेलाई जनही ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल स्कुल फुटबल लिग थन्डर बोल्ट्सको दीर्घकालिन सोचअनुरुप आयोजना गरिएको र यसले लामो समय देखि स्कुल स्त्तरीय प्रतियोगिताको अभाव भएको अवस्थामा निजी संस्थाले यो आयोजना गर्ने गरेका जेम्स स्कुलका भाइस प्रिन्सिपल आरपी बस्यालले जनाए ।
गत वर्षको पहिलो संस्करण यू–१८ स्त्तरीय भएको थियो र जेम्स थन्डर बोल्ट्सले एलए ड्रागनलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । स्कुल स्त्तरलाई अझ बलियो बनाउन यसपटक देखि यू–१६ को उमेर समूहमा प्रतियोगिता आयोजना गर्न लागिएको थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरका उपाध्यक्ष रायन कसजुले जनाए ।
