आईसीसी विश्वकप लिग २ : अमेरिकाद्वारा स्कटल्यान्ड पराजित

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।

जेष्ठ ६, २०८३

रासस

ICC World Cup League 2: USA defeats Scotland

काठमाडौँ — आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाले स्कटल्यान्डलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।

जितका लागि स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७/३७ रन बनाए । कप्तान साइतेजा मुक्कामल्लाले ३५ रन बनाए । मिलिन्द कुमार २४ रनमा अविजित रहँदा शुभम रन्जानेले ११ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका हुन् । त्यस्तै स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलनले ३२ रन जोड्दा म्याथ्यु क्रसले २० रन बनाए । त्यस्तै जर्ज मुन्सेले १९ रन बनाए ।

बलिङतर्फ अमेरिकाका रुशिल उगारकर एक्लैले चार विकेट लिए भने सौरभ नेत्रावलकरले तीन विकेट झारे । त्यस्तै शुभम रञ्जनेले दुई विकेट लिँदा हरमित सिहले एक विकेट लिए ।

जितसँगै अमेरिका ३८ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । समान ३८ नै अंक  रहेको  स्कटल्यान्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ । यस त्रिकोणात्मक शृङ्खलामा अब नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ ।

रासस

Link copied successfully