ग्वार्डिओलाले म्यानचेस्टर बसाइ टुंग्याउँदै

यो सिजनको अन्त्यसँगै उनले सिटीबाट बिदाइ लिन लागेका हुन् । सिटीसँग उनको एक वर्षको अनुबन्ध भने बाँकी छ ।

जेष्ठ ६, २०८३

एपी

Guardiola ends Manchester stay

What you should know

म्यानचेस्टर — पेप ग्वार्डिओलाले कीर्तिमानी १० वर्षको म्यानचेस्टर सिटी बसाइमा पूर्णविराम लाग्दै छ । इंग्लिस मिडियालाई विश्वास गर्ने हो भने उनले म्यानचेस्टर सिटी छोड्दै छन्, यद्यपि क्लब आफैंले यसबारे केही भनेको छैन । यो सिजनको अन्त्यसँगै उनले सिटीबाट बिदाइ लिन लागेका हुन् । सिटीसँग उनको एक वर्षको अनुबन्ध भने बाँकी छ ।

उनको स्थानमा एन्जो मारेस्काले प्रशिक्षक पद सम्हाल्ने विश्वास गरिएको छ । चेल्सीका पूर्वप्रशिक्षक मारेस्का यसअघि ग्वार्डिओलाकै सहायकका रूपमा सिटीमा थिए । सन् २०१६ मा सिटी आएयता ग्वार्डिओलाले १७ ठूला उपाधि जितेका छन् । पछिल्लो समय ग्वार्डिओलालाई उनको भविष्य लक्षित गरेर लगातार प्रश्न सोध्ने काम भएको थियो ।

यसक्रममा उनले आफू सिटीमै रहने बताउँदै आएका थिए । सोमबार मात्रै उनलाई यस्तै प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भनेका थिए, ‘मैले धेरैपल्ट भनिसकेको छु, सिटीसँग मेरो एक वर्षको अनुबन्ध बाँकी छ ।’ सिटीको १० वर्षको बसाइमा उनी क्लब इतिहासकै सबैभन्दा सफल प्रशिक्षक भएका थिए । उनले यसक्रममा बार्सिलोना र बायर्न म्युनिखमा भन्दा बढी समय बिताएका हुन् ।

सन् २००८ देखि २०१२ सम्म बार्सिलोनामा रहेका ग्वार्डिओलाले सन् २०१३ देखि २०१६ सम्म बायर्न सम्हालेका थिए । उनको सबैभन्दा ठूलो सफलता सन् २०२२–०२३ मा इंग्लिस प्रिमियर लिग, युरोपेली च्याम्पियन्स लिग र एफए कप जित्नु रहेको छ । यसक्रममा सिटीले सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले हात पारेको यस्तै तीन उपाधिको सफलता बराबरी गरेको थियो ।

उनी आएयता सिटीले छपल्ट प्रिमियर लिगको उपाधि जितेको थियो । यसक्रममा सिटीले इंग्लिस फुटबलको १ सय ४० वर्षको इतिहासमा पहिलो पटक सन् २०२१ देखि २०१४ सम्म लगातार लिग उपाधि जितेको थियो । सन् २०१७–०१८ को सिजन सिटी लिगमा १०० अंक जित्ने पहिलो टिम पनि बनेको थियो । सन् २०१८–०१९ मा एकै सिजन लिग र दुवै कप जित्ने सिटी पहिलो टिम पनि भएको थियो ।

यो सिजन पनि सिटीले लिग कप र एफए कप जितिसकेको छ भने प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलभन्दा पछाडि दोस्रोमा छ । उनी आएयता इंग्लिस फुटबलको शैली नै फेरिएको मानिन्छ । बलमाथि अत्यधिक नियन्त्रण राखेर खेल्ने शैली उनी आएपछि सुरु भएको थियो । यसक्रममा गोलरक्षक वा डिफेन्सबाट बल अगाडि बढाउने परम्परा पनि सुरु भएको हो । पछि धेरै टिमले यही शैली पछ्याएको थियो ।

एपी

Link copied successfully