नेपाल पुलिस क्लबमा भएको फाइनलमा उनीहरूले नेपाल विद्युत प्राधिकरणका विनोद अधिकारी र भक्तराज जोशीको जोडीलाई १४–२१, २५–२३, २१–१८ को सेटमा हरायो ।
काठमाडौँ — कृषि विकास बैंकका टक्कर कुँवर र राजकुमार निरौलाको जोडीले १५ औं कर्मचारी खेलकुद प्रतियोगिताको ब्याडमिन्टन पुरुष डबल्समा स्वर्ण पदक जितेको छ ।
नेपाल पुलिस क्लबमा भएको फाइनलमा उनीहरूले नेपाल विद्युत प्राधिकरणका विनोद अधिकारी र भक्तराज जोशीको जोडीलाई १४–२१, २५–२३, २१–१८ को सेटमा हरायो ।
५० वर्षमाथि पुरुष डबल्समा सञ्जयराज श्रेष्ठ र बसन्त थापाको जोडीले कृषिलाई अर्को स्वर्ण दिलाए । सञ्जय र बसन्तको जोडीले फाइनलमा एभरेस्ट बैंकका दीपक महर्जन र सुमनराज श्रेष्ठको जोडीलाई २५–२३, २१–१५ को सोझो सेटमा हरायो ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको एक्जिक्युटिभ पुरुष डबल्समा एनटीसीका सुजित आनन्द मल्ल र हरिकृष्ण शर्माको जोडी पहिलो तथा विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठको जोडी दोस्रो भयो ।
पुरुष सिंगल्समा विद्युतका भक्तराज जोशी विजेता भए । उनले फाइनलमा कृषि विकासका राजकुमार निरौलालाई २१–१८, २१–१६ ले हराए । महिलामा नेपाल नागरिक उड्डयन प्राधिकरणकी सुस्मिता रावत विजेता बनिन् । सुस्मिताले फाइनलमा विद्युतकी यामकुमारी गुरुङलाई २१–१४, २१–६ ले हराइन् ।
४५ वर्षमाथि पुरुष सिंगल्समा एनसेलका सुकन्त अधिकारी विजेता भए । उनले फाइनलमा विद्युतका छवि भट्टराईलाई २१–९, २१–९ ले पराजित गरे ।
विभिन्न ६ स्पर्धा समावेश ब्याडमिन्टनमा कृषिले सर्वाधिक २ स्वर्ण जित्यो । विद्युत, नागरिक उड्डयन, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जिते । ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टनसहित टेबलटेनिस सम्पन्न भएको छ । फुटसल र बुद्धिचाल हुन बाँकी छ ।
