अमेरिका पुनः लिग २ को शीर्ष स्थानमा

औंलामा चोट लागेका कारण आफ्ना नियमित कप्तान मोनान्क पटेल बिनै खेलिरहेको अमेरिकाले बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्‍यो ।

जेष्ठ ६, २०८३

विनोद पाण्डे

America returns to top of League 2

What you should know

काठमाडौँ — अमेरिका पुनः क्रिकेट विश्वकप लिग २ को शीर्ष स्थानमा उक्लेको छ । औंलामा चोट लागेका कारण आफ्ना नियमित कप्तान मोनान्क पटेल बिनै खेलिरहेको अमेरिकाले बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्‍यो ।

यस नतिजापछि स्कटल्यान्डलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा आएको हो । अमेरिकाको २७ खेलमा ३८ र स्कटल्यान्डको ३२ खेलमा ३८ अंक छ, तर अमेरिका राम्रो नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

सन् २०२४ बाट सुरु भई २०२६ मा टुंगिने आठ राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्ने कार्यक्रम रहेको छ । डिफेन्डिङ च्याम्पियन स्कटल्यान्डले अघिल्लो खेलमा अमेरिकालाई २ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो ।

अमेरिकाले भने कीर्तिपुरमा ७ खेलपछि पहिलो विजय हात पारेको हो । यस शृंखलाका अघिल्ला दुई खेलमा अमेरिकालाई स्कटल्यान्ड र नेपालले पराजित गरेका थिए । लिग २ को पछिल्लो सर्कल २०२० मा आउँदा पनि अमेरिका कीर्तिपुरमा नेपाल र ओमानसँग २–२ खेलमा पराजित भएको थियो ।

६ वर्ष अघि अमेरिका पछिल्लो पटक नेपाल आउदा सौरभ नेत्राभाल्कर टोलीका कप्तान थिए । उनले अनुभवी बलिङ गरेपछि अमेरिका सुरुआत देखि स्कटल्यान्डविरुद्धको खेलमा हाबी भएको थियो ।

रुशी उगरकरले फिल्ने म्याक्रिथलाई ४ रनमा आउट गरेपछि ३४ वर्षे देब्रेहाते तीव्र बलर नेत्राभाल्करले छोटो समयमा ३ विकेट लिए । उनले जर्ज मुन्सीलाई १९ रनमा आउट गरे भने कप्तान रिची बेरिङटन र माइकल इंग्लिसलाई खाता खोल्न दिएनन् ।

ब्रान्डन म्याकमुलेन ३४ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ३२ रनमा आउट गरेपछि स्कटल्यान्ड १५ औं ओभरमा ६१–५ को स्थितिमा पुगेको थियो । त्यसपछि म्याथ्यु क्रस र मार्क वाटले छैटौं विकेटमा ४२ रनको साझेदारी गरे । क्रसलाई २० रनमा हरमित सिंहले आउट गरे ।

त्यसपछि उगरकरले माइकल लिस्कलाई २, ओलिभर डेबिसनलाई ९ रनमा आउट गरे । आउट हुने अन्तिम खेलाडी वाट थिए । उगरकरको बलमा आउट हुनुपूर्व उनले ८५ बल खेली ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रन बनाए ।

उगरकरले ४ विकेट लिए । सोक्रममा उनले ८.३ ओभरमा ४८ रन खर्चे । प्लेयर अफ द म्याच नेत्राभाल्करले ९ ओभरमा २ मेडन राख्दै १९ रनमात्र खर्चेर ३ विकेट लिए । शुभम रन्जनेले ७ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

ओपनर स्मित पटेलले दुई पटक जीवनदान पाउँदा अमेरिका निकै भाग्यमानी बन्यो । इनिङ्सको पहिलो बलमै उनको क्याच छुटेको थियो । उनको अर्को क्याच व्यक्तिगत १७ रनमा हुँदा छुटेको थियो । दुवै पटक अभागी बलर म्याकमुलेन थिए । पटेल र अर्का ओपनर सायन जहाँगिरले समान ३७ रन बनाएपछि अमेरिकाले २७.१ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

पटेलले ५२ बल खेली ५ चौका र १ छक्का तथा जहाँगिरले ३४ बल खेली ५ चौका र २ छक्का प्रहार गरे । सेहन जयसूर्या १९ रनमा रनआउट भए । कप्तान साइतेजा मुकामुल्लाले ३५ बल खेली १ चौका र २ छक्का प्रहार गरी ३५ रन बनाए ।

मिलिन्द कुमार १६ बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ तथा रन्जने ६ बल खेली २ चौका प्रहार गर्दै ११ रनमा अविजित रहे । स्कटल्यान्डका ज्याक जार्भिस, डेभिडसन र लिस्कले १–१ विकेट लिए । अमेरिकाले शुक्रबार नेपालसँग यस शृंखलाको अन्तिम खेलमा खेल्ने छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully