कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलको विजेता हुने टोलीले प्रतियोगिता नै जित्ने सम्भावना बलियो बन्ने छ ।
काठमाडौँ — क्रिकेट विश्वकप लिग २ का शीर्ष दुई टोली स्कटल्यान्ड र अमेरिका बुधबार प्रतिस्पर्धा गर्दै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलको विजेता हुने टोलीले प्रतियोगिता नै जित्ने सम्भावना बलियो बन्ने छ ।
स्कटल्यान्ड ३१ खेलमा ३८ र अमेरिका २६ खेलमा ३६ अंक जोड्दै पहिलो दुई स्थानमा छन् । स्कटल्यान्डले ५ खेल अमेरिकाले १० खेल खेल्न बाँकी छ । सन् २०२४ बाट सुरु भएको लिग २ को तीनवर्षे साइकलमा एउटा टोलीले ३६ खेल खेल्ने छ र सर्वाधिक अंक जोड्ने टोली विजेता बन्ने छ । उपाधिका लागि हाललाई स्कटल्यान्ड र अमेरिकामात्र दाबेदार देखिएका छन् ।
ओमान २८ खेलमा ३१, नेदरल्यान्ड्स २४ खेलमा २८, नेपाल २७ खेलमा २२, नामिबिया २८ खेलमा २२, क्यानडा २४ खेलमा २१ र यूएई २४ खेलमा १४ अंक जोडेर क्रमशः तेस्रोदेखि आठौं स्थानमा छन् । शीर्ष चार टोलीले सोझै एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाउने प्रावधान छ ।
स्कटल्यान्डले पहिलो दुई खेलमा नेपाल र अमेरिकालाई समान २ रन अन्तरले पराजित गरेको थियो । त्यसपछि टोली बिहीबार नेपालसँग ६ विकेटले पराजित भयो । स्कटल्यान्डपछि अमेरिका अर्को खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । कीर्तिपुर मैदान अमेरिकाका लागि लिग २ मा दुःस्वप्न बन्दै आएको छ । सन् २०२० मा पछिल्लो पटक काठमाठौं आउँदा पनि अमेरिका नेपाल र ओमानसँग २–२ गरी चार खेलमा पराजित भएको थियो । लिग २ का कुल ६ खेलमै अमेरिकाले कीर्तिपुरमा खेल्दा पराजय भोगेको स्थिति छ ।
अझ अमेरिका आफ्ना कप्तान मोनान्क पटेलविनै प्रतियोगिताको बाँकी दुई खेल खेल्नुपर्ने अवस्थामा पुगेको छ । स्कटल्यान्डसँग बिहीबार भएको खेलमा उनलाई औंलामा चोट लागेको थियो र शनिबार नेपालसँगको खेल गुमाएका थिए । उनले यस शृंखलाका बाँकी दुई खेलमा खेल्न सम्भावना कमै रहेको बताइएको छ । मोनान्कको स्थानमा नेपालसँग सञ्जय कृष्णमूर्तिले खेलेका थिए । उनीसँग कीर्तिपुरमा नेपाल प्रिमियर लिग खेलेको पनि अनुभव छ ।
शीर्षस्थानका साथ नेपाल आएको अमेरिका दुई खेलमा हारपछि दोस्रो स्थानमा झरेको हो । स्कटल्यान्डले भने सुरुको दुई खेल जितेर अंकतालिकामा अमेरिकालाई उछिनेको थियो । सन् २०२३ मा पछिल्लो पटक काठमाडौं आउँदा नेपाली भूमिमा लिग २ को पछिल्लो सर्कलको उपाधि जितेको स्कटल्यान्डको बुधबार यस शृंखलामा अन्तिम खेल हो । अमेरिकाले भने शुक्रबार अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
