हैदरावादले चेन्नाइ सुपर किंग्सलाई पाँच विकेटले हराएपछि यो उपलब्धी चुमेको हो ।
काठमाडौँ — सनराइज हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्ले अफका लागि सोमबार छनोट भएको छ । हैदरावादले चेन्नाइ सुपर किंग्सलाई पाँच विकेटले हराएपछि यो उपलब्धी चुमेको हो । यो नतिजाले गुजरात टाइटन्स पनि प्ले अफ पुगेको छ ।
हारले चेन्नाइ भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । चेन्नाइमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ८० रन बनाएको थियो । त्यसमा डेवाल्ड ब्रेभिसले सर्वाधिक ४४ रन जोडे ।
त्यसको जवाफमा हैदरावादले इसान किसनको ७० र हेनरिक क्लासेनको ४७ रनको मदतले १९ ओभर मात्र उपयोग गरेर पाँच विकेटमा १ सय ८१ रन बनायो । इसानले ४७ बलमा सात चौका र तीन छक्का प्रहार गरे ।
लिग तालिकामा रोयल च्यालेन्जर्स बेंगलुरु १८ अंकमा शीर्षमा छ । उसको पछाडि गुजरात र हैदरावाद समान १६ अंकमा छन् । बेंगलुरु यसअघि नै प्ले अफका लागि छनोट भइसकेको छ ।
