लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा एभरेस्टका अच्युतराज पोखरेल पहिलो, नेपाल बैंकका ओमकुमार दोस्रो र निगमका विश्वास गौतम तेस्रो भए ।
What you should know
काठमाडौँ — एभरेस्ट बैंक र नेपाल वायुसेवा निगमले १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा २–२ स्वर्ण जितेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा १ स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले जितेको हो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा एभरेस्टका अच्युतराज पोखरेल पहिलो, नेपाल बैंकका ओमकुमार दोस्रो र निगमका विश्वास गौतम तेस्रो भए । महिलातर्फ निगमकी मेनुका चाम्लिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले रजत जिते ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा एभरेस्टका अच्युत र सरल रेग्मी विजेता तथा नागरिक उड्डयनका सन्तोष अवाले र रुपचन्द्र केसीको जोडी उपविजेता बन्यो। सोही विधाको महिलामा नागरिक उड्डयनका सरस्वती डुम्रे र सुष्मा थापाको जोडी पहिलो तथा विद्युत प्राधिकरणका गीता घिमिरे र मीता आचार्यको जोडी दोस्रो भयो ।
एक्जिक्युटिभ पुरुष सिंगल्समा निगमका प्रितमप्रसाद प्रधान विजेता र विद्युतका सुमन श्रेष्ठ उपविजेता भए । विभिन्न ५ स्पर्धामा ३९ प्रतियोगी सहभागी थिए ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा भएको ६ स्पर्धा समावेश ब्याडमिन्टनमा सेमिफाइनल समीकरण पूरा भएको छ । पुरुष सिंगल्समा विद्युतका भक्तराज जोशी र मंगेश तामाङ तथा कृषि विकास बैंकका टक्कर कुँवर र राजकुमार निरौला सेमिफाइनलमा पुगे । महिलामा विद्युतका यामकुमारी गुरुङ र जुनु घर्ती, नागरिक उड्डयनकी सुस्मिता रावत र कृषिकी दीपिका राईले सेमिफाइनलमा पुगेका छन् ।
एक्जिक्युटिभ पुरुष डबल्समा एनटीसीका सुजित आनन्द मल्ल र हरिकृष्ण शर्मा, विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठ, वासु कोलोनी र लोकेन्द्र साउद तथा कृषिका रमेशकुमार अर्याल र सञ्जयराज श्रेष्ठको जोडी सेमिफाइनल पुगेको छ ।
४५ वर्षमाथि पुरुष सिंगल्समा एनसेलका सुकान्त अधिकारी, कृषिका वसन्त थापा, काठमाडौं उपत्यका खानेपानीका रणबहादुर ऐरी र विद्युतका छवि भट्टराईले सेमिफाइनलमा स्थान बनाए । पुरुष डबल्समा विद्युतका विनोद अधिकारी र भक्तराज जोशी, कृषिका विजय जोजिजु र रमन राई, विद्युतका श्याम महर्जन र विष्णु मास्के तथा कृषिका टक्कर कुँवर र राजकुमार निरौलाले सेमिफाइनल यात्रा तय गरे ।
५० वर्षमाथि पुरुष डबल्समा एभरेस्टका दीपक महर्जन र सुमनराज श्रेष्ठ, जनक शिक्षाका जितेन्द्र राजथला र रामविनय श्रेष्ठ, विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्के तथा कृषिका सञ्जयराज श्रेष्ठ र वसन्त थापाको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ब्याडमिन्टनमा ७४ प्रतिस्पर्धी सहभागी छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताल उद्घाटन गरे । प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिससहित फुटसल र बुद्धिचाल गरी ४ खेल समावेश छन् ।
