इशान पाण्डे र रोहित पौडेलले तेस्रो विकेटमा १०४ रनको साझेदारी गरेपछि नेपालले १९५ रनको लक्ष्य ३८.१ ओभरमै पूरा गर्दै स्कटल्यान्डलाई हरायो।
What you should know
काठमाडौँ — इशान पाण्डे र कप्तान रोहित पौडेलले शतकीय साझेदारी गरेपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा सोमबार स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । इशान र रोहितले तेस्रो विकेटमा १ सय ४ रनको साझेदारी गरेपछि नेपालले १ सय ९५ रनको लक्ष्य ३८.१ ओभरमै पूरा गर्यो ।
नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्यान्डलाई ४ खेलमा तेस्रो पटक पराजित गरेको हो । स्कटल्यान्डसँगको यस जितेपछि नेपाल लिग २ को अंक तालिकामा सातौंबाट पाँचौँ स्थानमा उक्लिएको छ । नेपालको २७ खेलमा २२ अंक पुगेको छ । स्कटल्यान्ड ३१ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा कायमै छ । आठ राष्ट्र सहभागि लिग २ बाट शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।
नेपालले अमेरिकाविरुद्ध शनिबार ९ विकेटको विजय हात पारेको थियो । नेपालले शुक्रबार अमेरिकासँगै खेलेर घरेलु मैदानमा यस लिग २ को यात्रा टुंग्याउने छ । नेपालले थप दुई शृंखला यसै वर्ष नेदरल्यान्ड्स र ओमानमा खेल्ने कार्यक्रम रहेको छ ।
कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । सातौं ओभरमा आसिफ दुर्भाग्यपूर्ण रनआउट भएपछि यो साझेदारी टुटेको थियो, जति खेर नेपालको स्कोर ५८ रन रहेको थियो । आसिफ १७ बल खेली ३ चौका र २ छक्का प्रहार गर्दै २९ रनमा रनआउट भए । त्यसको अर्को ओभरमा ब्रान्डन म्याकमुलेनले कुशललाई एलबीडब्लू आउट गरे । कुशलले २७ बल खेली ४ चौका र १ छक्का प्रहार गरी २८ रनमा आउट भए ।
इशान र रोहितले त्यसपछि म्याच विजयी साझेदारी गरे । दोस्रो खेल खेल्दै गरेका इशानले ५५ रन बनाए । उनले ६१ बल खेली ५ चौका र २ छक्का प्रहार गरे । मार्क वाटले आफ्नै बलिङमा उनलाई रिटर्न क्याच गराए । वाटले नै दीपेन्द्रसिंह ऐरीलाई २ रनमा आउट गरे । रोहित ७४ रन बनाई अविजित रहे । उनले माइकल लिस्कलाई विजय छक्का प्रहार गरे । रोहितले ९८ बलको इनिङ्समा कुल ५ चौका र २ छक्का प्रहार गरे । आरिफ शेख २३ बलमा ८ रन बनाई अविजित रहे ।
यसअघि स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले हाबी भएपछि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो । पछिल्ला खेलमा विकेटका लागि तड्पिरहेका ललितले ४ र सन्दीपले ३ विकेट लिदैं स्कटल्यान्डको ब्याटिङलाई घुमाएका थिए । देब्रेहाते स्पिनर ललितले ८ ओभरमा ३२ र लेग स्पिनर सन्दीपले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए ।
म्याकमुलेनले २८ बलमा चौथो छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गर्दा स्कटल्यान्ड विशाल लक्ष्यतर्फ अगाडि बढेको थियो । म्याकमुलेनलले २० औं ओभरमा सन्दीपलाई मिडविकेटमा छक्का र थर्डमा चौका प्रहार गरेका थिए । त्यसपछिको अर्को बलमा सन्दीपले म्याकमुलेनलाई लङअफमा इशानबाट क्याच गराए । म्याकमुलेनले ४४ बल खेली समान ६ चौका र छक्का प्रहार गर्दै ७३ रन बनाए ।
यो विकेटसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो विकेट संख्या १ सय ५० पुर्याएका छन् । सन्दीपले ७३ खेलमा यो सफलता हात पार्दै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने कीर्तिमान बनाएका हुन् । यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा १ सय ५० विकेट लिएका थिए ।
म्याकमुलेन आउट हुँदा स्कल्यान्डको स्कोर १ सय २६ रन थियो । ओपनर फिन्ले म्याकक्रिथलाई अफ स्पिनर दीपेन्द्रले ६ रनमा एलबीडब्लू आउट गरेका थिए । अर्का ओपनर जर्ज मन्सी ३१ बलमा ३ चौका प्रहार गरी २१ रन बनाई सन्दीपबाट बोल्ड भए ।
त्यसपछि ललितले कप्तान रिची बेरिङटनलाई १२ रनमा बोल्ड गरी चार खेलपछि पहिलो विकेट लिए । सन्दीपले म्याथ्यु क्रसलाई १ रनमा बोल्ड गरे । माइकल इंग्लिस र वाटले छैटौं विकेटमा ४५ रनको साझेदारी गरे । वाटलाई सोमपाल कामीले शर्ट पिच बलमा विकेटकिपर आसिफबाट क्याच गराए । वाटले ३४ बल खेली समान १ चौका र छक्कासहित २० रन बनाए ।
त्यसपछि ललितले माइकल लिस्कलाई १ रनमा एलबीडब्लु आउट गराए भने ओलिभर डेबिडसनलाई शुन्यमा बोल्ड गरे । ‘डेब्यु’ गरिरहेका ओली जोन्स २ रन बनाई ललितको चौथो शिकार भए । आउट हुने अन्तिम खेलाडी इंग्लिस थिए । उनले ७२ बल खेली ४ चौका र १ छक्कासहित ५१ रन बनाए । उनलाई नन्दन यादवले डिप स्क्वायर लेगमा सोमपालबाट क्याच गराए ।
