स्पिनर हाबी भएपछि नेपालले स्कटल्यान्डलाई १९४ रनमै गर्‍यो अलआउट

सन्दीप लामिछानेको ऐतिहासिक १५० विकेट र ललित राजवंशीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले स्कटल्यान्डलाई सस्तैमा समेट्दै जितको राम्रो अवसर बनाएको छ।

जेष्ठ ४, २०८३

विनोद पाण्डे

Nepal bowls out Scotland for 194 runs after spinners dominated

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा सोमबार स्कटल्यान्डविरुद्धको खेल जित्न १ सय ९५ रनको लक्ष्य पाएको छ । स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले हाबी भएपछि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ३९.१ ओभरमा १ सय ९४ रनमा अलआउट भयो । 

पछिल्ला खेलहरूमा विकेटका लागि तड्पिरहेका ललितले ४ र सन्दीपले ३ विकेट लिँदै स्कटल्यान्डको ब्याटिङलाई घुमाएका थिए । देब्रेहाते स्पिनर ललितले ८ ओभरमा ३२ र लेग स्पिनर सन्दीपले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । 

म्याकमुलेनले २८ बलमा चौथो छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गर्दा स्कटल्यान्ड विशाल लक्ष्यतर्फ अगाडि बढेको थियो । म्याकमुलेनलले २० औं ओभरमा सन्दीपलाई मिडविकेटमा छक्का र थर्डमा चौका प्रहार गरेका थिए । त्यसपछिको अर्को बलमा सन्दीपले म्याकमुलेनलाई लङअफमा इशानबाट क्याच गराए । म्याकमुलेनले ४४ बल खेली समान ६ चौका र छक्का प्रहार गर्दै ७३ रन बनाए ।

यो विकेटसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो विकेट संख्या १ सय ५० पुर्याएका छन् । सन्दीपले ७३ खेलमा यो सफलता हात पार्दै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने कीर्तिमान बनाएका हुन् । यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा १ सय ५० विकेट लिएका थिए ।

Nepal bowls out Scotland for 194 runs after spinners dominated

म्याकमुलेन आउट हुँदा स्कल्यान्डको स्कोर १ सय २६ रन थियो । ओपनर फिन्ले म्याकक्रिथलाई अफ स्पिनर दीपेन्द्रसिंह ऐरीले ६ रनमा एलबीडब्लू आउट गरेका थिए । अर्का ओपनर जर्ज मन्सी ३१ बलमा ३ चौका प्रहार गरी २१ रन बनाई सन्दीपबाट बोल्ड भए । 

त्यसपछि ललितले कप्तान रिची बेरिङटनलाई १२ रनमा बोल्ड गरी चार खेलपछि पहिलो विकेट लिए । सन्दीपले म्याथ्यु क्रसलाई १ रनमा बोल्ड गरे । माइकल इंग्लिस र मार्क वाटले छैटौं विकेटमा ४५ रनको साझेदारी गरे । वाटलाई सोमपाल कामीले शर्ट पिच बलमा विकेटकिपर आसिफबाट क्याच गराए । वाटले ३४ बल खेली समान १ चौका र छक्कासहित २० रन बनाए । 

त्यसपछि ललितले माइकल लिस्कलाई १ रनमा एलबीडब्लू आउट गराए भने ओलिभर डेबिडसनलाई शून्यमा बोल्ड गरे । ‘डेब्यु’ गरिरहेका ओली जोन्स २ रन बनाई ललितको चौथो शिकार भए । आउट हुने अन्तिम खेलाडी इंग्लिस थिए । उनले ७२ बल खेली ४ चौका र १ छक्कासहित ५१ रन बनाए । उनलाई नन्दन यादवले डिप स्क्वायर लेगमा सोमपालबाट क्याच गराए । 

नेपालले अमेरिकाविरुद्ध शनिबार ९ विकेटको विजय हात पारेको थियो । स्कटल्यान्डसँगको यस खेल जितेमा नेपाल सातौंबाट पाँचौं स्थानमा उक्लिने छ । स्कटल्यान्ड ३० खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully