नेपाल र स्कटल्यान्ड आमनेसामने हुँदै

नेपालले स्कटल्यान्डलाई पराजित गरेमा क्यानडा र नामिबियालाई उछिन्दै पाँचौं स्थानमा उक्लनेछ ।

जेष्ठ ४, २०८३

विनोद पाण्डे

Nepal and Scotland face off

What you should know

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा सोमबार स्कटल्यान्डको सामना गर्नेछ । दुवै टोलीले यस शृंखलामा आफ्नो तेस्रो खेल खेलिरहेका छन् । स्कटल्यान्डले आफ्नो पहिलो दुवै खेलमा नेपाल र अमेरिकालाई समान २ रनले पराजित गरेको थियो । 

यी दुई विजयका साथ स्कटल्यान्डले अमेरिकालाई उछिन्दै लिग २ को शीर्ष स्थानमा उक्लेको थियो । डिफेन्डिङ च्याम्पियन स्कटल्यान्डले ३० खेलमा ३८ अंक जोडिसकेको छ र टोलीले अब ६ खेल खेल्न बाँकी रहेको छ । एउटा टोलीले लिग २ मा ३६ खेल खेल्न पाउने प्रावधान रहेको छ । 

अमेरिका २६ खेलमा ३६ अंक जोडी दोस्रो स्थानमा छ । नेपाल २६ खेलमा २० अंक जोडी ८ राष्ट्र सहभागी प्रतियोगिताको सातौं स्थानमा छ । लिग २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा जाने प्रावधान रहेको छ । नेपालले स्कटल्यान्डलाई पराजित गरेमा क्यानडा र नामिबियालाई उछिन्दै पाँचौं स्थानमा उक्लनेछ । 

दीपेन्द्रसिंह ऐरीको ४ विकेट तथा कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा १ सय ४५ रनको साझेदारी गरेपछि नेपालले बिहीबार अमेरिकामाथि ९ विकेटको विजय हात पारेको थियो । कुशलले अविजित १ सय २० रन बनाएपछि नेपालले २०२४–२७ लिग २ सर्कलमा पहिलो पटक अमेरिकामाथि विजय हात पार्न सफल भएको थियो । 

नेपाल र स्कटल्यान्डले २०२४–२७ लिग २ को यात्रामा आमनेसामने हुँदा २–२ खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully