महत्त्वाकांक्षी एनएसएल विस्तार हुँदै

प्रतियोगिता ‘होम एन्ड अवे’ का आधारमा हुनेछ । त्यसको अर्थ हो, प्रतियोगिताका खेल अब काठमाडौंबाहिर मात्र हुने छैन, धेरै मैदानमा हुनेछ ।

जेष्ठ ४, २०८३

हिमेश

Ambitious NSL expanding

What you should know

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन राष्ट्रिय खेलकुद परिषद्ले फुकुवा गरेको दुई दिन नबित्दै नेपाली फुटबलमा रहेको एउटा ‘डेडलक’ तोड्ने घोषणा भएको छ । सम्भवतः यो नेपाली फुटबलका लागि सञ्जीवनी पनि हुन सक्नेछ तर यो असाध्यै महत्त्वाकांक्षी रूपमा पेस भएको छ । 

सुरुआती तीन संस्करणको एक्लो आयोजक रहेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आइतबार भदौ २० बाट नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण सुरु गर्ने घोषणा गरेको हो । सहिद स्मारक लिग ‘ए’ डिभिजन कहिले हुने र कसरी हुने टुंगो नभइरहेका बेला फ्रेन्चाइज लिगको नयाँ संस्करणको मिति घोषणा भएको छ । 

प्रतियोगिताको यो मिति मात्रै घोषणा भएको हो तर आयोजकले तीन नयाँ योजना भने अगाडि सारेको छ । त्यसमध्ये पहिलो हो, यसपल्टदेखि प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ, त्यसको अर्थ सहभागी टिमले लिग चरणमा एक अर्कोसँग दुईपल्ट खेल्नेछ । त्यसैले प्रतियोगिता लामो समयका लागि हुनेछ, सम्भवतः तीन–चार महिना नै । 

दोस्रो घोषणा हो, प्रतियोगिता ‘होम एन्ड अवे’ का आधारमा हुनेछ । त्यसको अर्थ हो, प्रतियोगिताका खेल अब काठमाडौंबाहिर मात्र हुने छैन, धेरै मैदानमा हुनेछ । अनि तेस्रो घोषणा हो, सहभागी टिमको संख्या बढाएर १० देखि १२ पुर्‍याइनेछ । त्यस्तोमा अब तीनदेखि पाँच नयाँ टिम घोषणा हुनेछन् । नेपाली फुटबलमा नयाँ फ्रेन्चाइज टिमका मालिक देखिनेछन् ।

‘हाम्रो उद्देश्य लामो समयसम्म चल्ने लिग आयोजना गर्ने नै हो,’ आयोजक स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका कार्यकारी निर्देशक श्रेयन्स कार्कीले भने, ‘यससँगै नेपाली फुटबलमा नयाँ अध्याय सुरु हुनेछ ।’ पछिल्लो संस्करणमा सात टिमको सहभागिता रहेको थियो र ललितपुर सिटी एफसी दुईपल्टको डिफेन्डिङ च्याम्पियन रहेको छ । प्रतियोगिताको पहिलो संस्करणमा सात टिम सहभागी थिए र काठमाडौं रेजर्स विजयी रहेको थियो । दोस्रो संस्करणमा भने सहभागी संख्या बढेर नौ पुगेको थियो ।

चौथो संस्करण आएर नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट एक्लो आयोजक रहेको क्रम पनि टुटेको छ । अबदेखि आयोजक स्वंय नेपाल सुपर लिग रहनेछ । त्यसअनुसार नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजकका रूपमा ५० प्रतिशत सेयर रहनेछ भने बाँकी सेयर सहभागी रहने टिमको रहनेछ । यसरी प्रतियोगिताको आयोजक संरचना पनि फेरिएको छ ।

प्रतियोगिताको नयाँ मिति घोषणासँगै यससँगै जोडिएर नयाँ बहस पनि सुरु हुनेछ । एनएसएलको आयोजना घोषणापछि सहिद स्मारक लिग ‘ए’ डिभिजन कहिले र कसरी हुनेछ, त्यसबारे एन्फाले कसरी व्यवस्था गर्नेछ, त्यो प्रश्न रहनेछ । यस्तै यसको असर मोफसलमा हुने प्रतियोगितामा कस्तो हुनेछ, त्यो पनि ख्याल गर्नुपर्नेछ । त्यति मात्र होइन, प्रतियोगिता आयोजना हुने समयमै पुरुष साफ च्याम्पियनसिप पनि हुने हुनाले त्यति बेला भएकाले के गर्ने हो, त्यो पनि उत्तिकै महत्त्वपूर्ण प्रश्न रहनेछ ।

फुटबलबाट टाढा रहेर सहयोग गर्ने

प्रतियोगिताको घोषणासभा खालि त्यसबारे जानकारी दिनेमा मात्रै सीमित रहेन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पहिलो पटक नेपाली खेलकुदको औपचारिक कार्यक्रममा बोले र उनको भनाइ थियो, सरकार नेपाली फुटबल मात्र होइन, खेलकुदबाट नै टाढा रहनेछ । उनले भने, ‘हामी खेलकुदमा राजनीति चाहँदैनौं तर नेपाली खेलकुदको विकासका लागि हाम्रो सहयोग जारी रहनेछ ।’

उनले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटलाई अर्कै स्तरमा पुर्‍याए जस्तै एनएसएलले नेपाली फुटबललाई पनि त्यस्तै गन्तव्यमा पुग्न मद्दत गर्ने विश्वास पोखे । परिषद्को निलम्बन फुकुवापछि एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले पहिलोपल्ट सार्वजनिक रूपमा बोल्दै आफ्नोतर्फबाट नेपाली फुटबलको विकास र विस्तारका लागि इमान्दारितापूर्वक नै काम हुने बताए । कार्यक्रम स्थलमा अध्यक्ष नेम्वाङसँगै परिषद्का सदस्यसचिव रामचरित्र मेहता पनि थिए ।

हिमेश

Link copied successfully