कुशल भुर्तेलको अविजित १ सय २० रनमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना कायम राखेको छ।
What you should know
काठमाडौँ — तीन खेल भइसकेको थियो, कुशल भुर्तेल नेपालको प्लेयिङ ११ मा नअटेको । क्रिकेट विश्वकप लिग २ शृंखलामा नेपाल निकै महत्त्वपूर्ण खेलहरू खेलिरहँदा उनी भने पहेँलो रंगको बिप्स लगाएर वैकल्पिक खेलाडीको भूमिकामा ‘टिममेट’लाई पानी र हेलमेट पुर्याउने व्यस्त हुन्थे ।
एकाएक उनी शनिबार अमेरिकाविरुद्ध खेल्दा नेपालको प्लेयिङ ११ मा फर्किए । उनले त्यो अवसर खेर जान दिएनन् र खेल जीवनकै उत्कृष्ट इनिङ्स खेले । उनको अविजित १ सय २० रनमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना पुनर्जीवित गरेको छ ।
यूएईविरुद्धको ट्वान्टी–२० शृंखलामा कुशलले म्याच विनिङ अविजित ८४ रन बनाएको एक महिना पनि भएको छैन । त्यही खेलको आठ दिनपछि उनले नेपालको प्लेयिङ ११ मा आफ्नो स्थान गुमाएका थिए । त्यसबीच भएका लिग २ शृंखलामा उनले यूएईविरुद्ध २४ र ओमानविरुद्ध १ रनमात्र बनाउन सकेका थिए । जसका कारण टोलीभित्र उथुलपुथल सुरु भइसकेको थियो । आफ्नो स्थान गुमाउनेमा कुशल पनि एक थिए ।
तर प्राप्त अवसरमा कुशलले ब्याटबाट जोडदार जबाफ फर्काएका छन् । नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा यो दोस्रो उच्च स्कोर हो । रोहित पौडेलले सन् २०२२ मा कीर्तिपुरमै पपुवा न्युगिनीविरुद्धको शृंखलामा १ सय २६ रन बनाएका थिए ।
कुशल भुर्तेल अमेरिकाविरुद्ध प्राप्त यो सफलता शब्दमा वर्णन गर्न सकिरहेका थिएनन् । ‘शतक बनाएको फिलिङ्स नै छैन, अब कसरी बयान गर्नु । खुसी चाहिँ लागेको थियो । शीर्षपंक्तिको ब्याटिङले राम्रो सुरुआत दिइरहेको थिएन, त्यसैले आसिफ (शेख) र मैले राम्रो सुरुआत दिन पाउँदा खुसी लागेको थियो, त्यो फिलिङ्सचाहिँ शतकभन्दा धेरै थियो,’ कुशलले सुनाए, ‘एउटा शतक खेलाडीका लागि राम्रो हुन्छ । जिम्बावेसँग मैले यो अवसर गुमाएको थिएँ । आज शतक पूरा गर्ने अवसर पाएँ, त्यसैले भगवान्लाई धन्यबाद दिएँ ।’
कुशलले १ सय ४ बलमा आफ्नो दोस्रो शतक पूरा गरेका हुन् । त्यसपछि उनले दुवै हात जोडेर आकाशतर्फ टोलाए । सन् २०२३ को विश्वकप छनोटमा कुशल जिम्बावेविरुद्ध ९९ रनमा बोल्ड भएका थिए । कुशल र आसिफ शेखले उक्त खेलमा पहिलो विकेटका लागि १ सय ७१ रन जोडेका थिए । शनिबार कुशल र आसिफले अमेरिकाविरुद्ध पहिलो विकेटमा १ सय ४५ रन जोडेर विजय आधार तयार पारेका हुन् । नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा यो चौथो ठूलो साझेदारी हो । कुशल र आसिफले पहिलो विकेटमा चौथो पटक शतकीय साझेदारी पनि गरेका छन् ।
‘आसिफ र म एउटै कोठामा बस्छौं, कसरी राम्रो सुरुआत दिने भनेर हामीबीच कुरा भइरहेको हुन्छ । हामीले राम्रो सुरुआत दिने हो भने नेपालले म्याच जित्छ भन्ने थियो । पिचमा पनि त्यही मात्र योजना बनाइरहेका थियौं, आज त्यो सफल हुँदा खुसी लागेको छ,’ कुशलले भने, ‘विकेट हेर्दा राम्रो थियो, अमेरिकाले त्यसअनुरुप अलिक कम रन बनायो । २६० देखि २८० सम्म रन बन्छ होला जस्तो लागेको थियो, तर २०० रनमुनि रोक्दा हामीलाई सजिलो भयो । म आज एउटा उद्देश्यसाथ खेलिरहेको थिएँ, आफ्नो रेन्जमा आएको बल खेल्छु भन्ने थियो । आसिफको पनि त्यही थियो, ऊ अलिक विस्तारै खेल्छ ।’
यसअघिका खेलहरूमा प्लेयिङ सेटबाट ‘ड्रप’ भएका कुशललाई विश्वास गर्न गाह्रो भइरहेको थियो । ‘एउटा गलत निर्णय ओमानसँगको खेलमा मबाट भयो, जबकि ट्वान्टी–२० मा मैले राम्रो नै खेलेको थिएँ । त्यसपछि यूएईसँगको पहिलो खेलमा पनि मैले राम्रै खेलें, सुरुआत पनि राम्रो गरेको थिएँ । तर ओमानसँग त्यो देव्रेहाते स्पिनरलाई गलत खेल्दा मलाई तीन खेलबाहिर बसालिदियो,’ उनले पीडा पोखे, ‘म ब्याटिङ राम्रै गरिरहेको थिएँ । नेटमा खेल्दा होस् वा व्यक्तिगत रूपमा खेल्दा मैले राम्रो गरिरहेको थिएँ, एकछिन खेल्यो भने राम्रो गर्न सक्छु भन्ने विश्वास थियो । त्यो विश्वास देखाएँ ।’
उनी मान्छन्, अहिले जोकोहीलाई नेपालको टोलीमा पर्न र खेल्न सजिलो छैन । उनी यसलाई सकारात्मक रूपमा लिन्छन् । उनले अगाडि भने, ‘खेलाडी छान्न अहिले निकै गाह्रो छ । प्रशिक्षक र कप्तानलाई प्लेयिङ ११ निकाल्नै गाह्रो परिरहेको छ, त्यो खाले प्रतिस्पर्धा भएको पनि राम्रो हो । यसले टिममा स्वस्थ प्रतिस्पर्धा बढाउँछ । नेपाल ‘ए’ ले पनि ४ खेल जितेर राम्रो गरिरहेको छ । टिममा कोही प्रतिस्पर्धी आउँछ भने आफूले पनि राम्रो गर्नुपर्छ भन्ने हुन्छ ।’
कुशलको इनिङ्सबाट अमेरिकी प्रशिक्षक पुबुदु दासानायके पनि निकै प्रभावित रहे । खेल सकिएपछि उनले कुशलबारे प्रतिभाबारे भने, ‘उनी केही खेलदेखि प्लेयिङ ११ मा नरहेको मलाई थाहा थियो तर उनी निकै प्रतिभाशाली खेलाडी हुन् । नेपाली टोलीका उनी एक उत्कृष्ट खेलाडी हुन् । प्रत्येक खेलमा एकरुपको प्रदर्शन गर्न कठिन हुन्छ, तर जब उनी रन बनाउँछन्, त्यतिखेर उनी म्याच विनर नै हुन्छन् । आज उनले त्यही देखाए ।’
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलले बनाएको एकमात्र शतक पुबुदु नेपालको प्रशिक्षक रहेको समयमा नै थियो । सन् २०२२ को फेब्रुअरीमा उनले आईसीसी विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध ओमानको मस्कटमा अविजित १ सय ४ रन बनाएका थिए ।
नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने खेलाडी सूचीमा कुशल पनि थपिएका छन् । यसअघि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाएका थिए । संयोगले कुशल, रोहित र दीपेन्द्रले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि १–१ शतक प्रहार गरेका छन् ।
