अमेरिकालाई दुःस्वप्न बनेको कीर्तिपुर

जिम्बावेमा सन् २०२३ मा विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेयता नेपालले अमेरिकामाथि पहिलो विजय पाएको हो ।

जेष्ठ ३, २०८३

विनोद पाण्डे

Kirtipur has become a nightmare for America

What you should know

काठमाडौँ — नेपालविरुद्ध पछिल्लो पटक त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा खेल्दाको क्षण अमेरिकी क्रिकेटले कहिल्यै बिर्सने छैन । अमेरिका क्रिकेट विश्वकप लिग २ को पछिल्लो सर्कलमा ३५ रनमै अलआउट भएको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै सबैभन्दा सानो स्कोरको नकारात्मक कीर्तिमान हो ।

अमेरिकाका लागि शनिबार नेपालसँगको खेलमा पनि सम्झनलायक खासै केही रहेन । अमेरिका ९ विकेटको पराजय स्वीकार्न बाध्य भयो । अमेरिकाविरुद्ध कुशल भुर्तेलले अविजित १ सय २० रन प्रहार गरे । जसका कारण नेपालले १ सय ९६ रनको लक्ष्य ३६.४ ओभरमै १ सय ९९ रन बनाएर जित हासिल गरेको थियो ।

लिग २ को २०२४–२७ सर्कलमा नेपालले अमेरिकालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि अमेरिकाले सबै चार खेल जितेको थियो । जिम्बावेमा सन् २०२३ मा विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेयता नेपालले अमेरिकामाथि पहिलो विजय पाएको हो ।

नेपालको २६ खेलबाट २० अंक छ । आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा यथावत् छ । अमेरिका २६ खेलमा ३८ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थान लिएर नेपाल आएको अमेरिकाको यो लगातार दोस्रो हार हो । अमेरिका बिहीबारमात्र स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो । अमेरिकाको दुःख यतिमै सीमित छैन । टोलीले कीर्तिपुरमा खेलिएको लिग २ का सबै ६ खेलमा पराजय भोगेको छ । सन् २०२० मा पछिल्लो पटक लिग २ खेल्न अमेरिका काठमाडौं आउँदा नेपाल र ओमानसँग २–२ खेलमा पराजित भएको थियो ।

‘हामीले नेपालसँग आफ्नो क्षमताअनुसार ४० प्रतिशतमात्र खेल्यौं, हामी कम्तीमा २८० रन हाराहारीको स्कोरतर्फ अगाडि बढिरहेका थियौं, तर केही महत्त्वपूर्ण विकेट गुमाउन पुग्यौं । यो विकेटमा टिकेर खेल्न जरुरी छ,’ अमेरिकी प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘मैले पहिला पनि भन्दै आएको छु, कन्डिसनको हिसाबमा नेपालमा खेल्न निकै कठिन छ । अन्य ठाउँमा पनि कन्डिसन फरक हुन्छ, फास्ट बलिङका लागि भएको ठाउँमा दिनभर नै त्यहीअनुसारको विकेट हुन्छ र स्पिन बलिङ सुहाउँदो भएको बलमा पूरा खेलमा त्यस्तै विकेट हुन्छ । तर नेपालमा बिहान एक किसिमको कन्डिसन हुन्छ, दिउँसो अर्कैखाले ।’

कुशलले १ सय १८ बलको इनिङ्समा १३ चौका र ४ छक्का प्रहार गरे । कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाएका हुन् । सन् २०२३ को फेब्रुअरीमा पनि उनले नामिबियाविरुद्ध कीर्तिपुरमै १ सय १५ रन बनाएका थिए । कुशलले आसिफ शेखसँग पहिलो विकेटमा १ सय ४५ रन जोडेर नेपालको विजय आधार बनाए । आसिफ २७ औं ओभरमा आउट भएपछि साझेदारी टुटेको थियो । पाकिस्तानी अम्पायर फैजल अफ्रिदीले रनआउट दिन चुकेपछि खाता खोल्नुअघि नै जीवनदान पाएका आसिफले ५८ रन बनाए । उनले ७२ बल खेल्दै ८ चौका प्रहार गरे । ‘डेब्यु’ गरिरहेका इशान पाण्डे २० रनमा अविजित रहे । विजयी चौका प्रहार गरेका उनले ३० बल सामना गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रनमा अलआउट भयो । निकै दमदार ब्याटिङ गरेको अमेरिकाविरुद्ध नेपाल उत्कृष्ट फिल्डिङ गर्दै खेलमा फर्किएको थियो । २३ औं ओभरमा १२२–१, ३१ औं ओभरमा १५८–३ को मजबुत अवस्थामा रहेको अमेरिका अन्ततः ६ ओभरअगाडि नै अलआउट हुन पुग्यो । सायन जहाँगिर ६ रनमै आउट भए पनि ओपनर स्मित पटेलले सेहन जयसूर्यासँग मिलेर दोस्रो विकेटमा १ सय रन जोडेका थिए । जयसूर्याले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए ।

सोमपाल कामीको बलमा आसिफले स्मित १४ रनमा रहँदा सजिलो क्याच छाडे, त्यसको उनले भरपूर फाइदा उठाए । स्मित ८९ रन बनाई आसिफबाट उत्कृष्ट क्याच भएर पेभेलियन फर्किए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । जयसूर्या र स्मित दुवैको विकेट सोमपालले लिए ।

अमेरिका आफ्ना कप्तान मोनान्क पटेलविनै खेलेको थियो । स्कटल्यान्डसँग बिहीबार भएको खेलमा उनलाई औंलामा चोट लागेको थियो । उनको स्थानमा अमेरिकाको कप्तानी गरिरहेका साइतेजा मुकामल्लालाई सन्दीप लामिछानेले बोल्ड गरे । वैकल्पिक फिल्डर भीम सार्कीले आसिफसँग मिलेर शुभम रञ्जनेलाई २ रनमा रनआउट गरे ।

आसिफले मिलिन्द कुमार २० रनमा हुँदा स्टम्पआउट गर्ने अवसर गुमाउन पुगे । मिलिन्द ४१ बलमा २–२ चौका र छक्कासहित २८ रनमा आउट भए । मोनान्कको स्थानमा खेलेका सञ्जय कृष्णमूर्ति १ रनमा बनाई गुलशन झाको बलमा आउट भए । दीपेन्द्रसिंह ऐरी र आसिफ मिलेर मोहम्मद मोहसिनलाई शून्यमा रनआउट गरे । दीपेन्द्रले नोसथस केन्जिगेलाई १ र हरमित सिंहलाई १४ रनमा आउट गरे ।

दीपेन्द्रले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । सोक्रममा उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । सोमपालले ७ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ तथा सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४१ र गुलशनले ४ ओभरमा २८ रन खर्चेर १–१ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully