इरानलाई विश्वकपमा सहभागिता निश्चित गराउन फिफाको दौडधुप

वार्ता टर्किएको इस्तानबुलमा भएको र त्यसको उद्देश्य अबको विश्वकपमा इरानको सहभागिता निश्चित गर्नु रहेको फिफाले जनाएको छ ।

जेष्ठ ३, २०८३

एएफपी

FIFA rushes to secure Iran's participation in the World Cup

पेरिस — फिफा महासचिव म्याथिस ग्राफस्ट्रोमले इरानसँग आइतबार भएको बैठक सौहार्दपूर्ण रहेको बताएका छन् । वार्ता टर्किएको इस्तानबुलमा भएको थियो र त्यसको उद्देश्य अबको विश्वकपमा इरानको सहभागिता निश्चित गर्नु रहेको छ । इरानले आफ्नो समूहका सबै तीनै खेल अमेरिकी भूमिमा खेल्नेछ । 

मध्यपूर्वमा चलिरहेको युद्धका बाबजुद इरान विश्वकप खेल्न अमेरिका जानुपर्नेछ । ग्राफस्ट्रोमले भने, ‘हामीबीचको वार्ता निकै राम्रो रह्यो । इरानको एफएसँगको कुराकानी ठोस रह्यो भन्दा हुन्छ । हामीले संयुक्त रूपमा काम गरिरहेका छौं र इरानलाई अमेरिकामा स्वागत गर्न आतुर छौं । हामीले इरानसँग त्यस्ता विषयमा छलफल गरेका थियौं, जुन प्रत्येक सहभागी हुने देशको एफएसँग पनि गर्छौर् । वार्ताले सकारात्मक वातावरण तयार पारेको छ र यो नै खुसी हो ।’

यसअघि इरानी फुटबल संघका अध्यक्ष मेहदी ताजले इरानी टिमका लागि अहिलेसम्म पनि अमेरिकी प्रवेश आज्ञा प्राप्त नभएको जनाएको थियो । तर आइतबारको बैठकपछि उनले स्थिति सकारात्मक रहेको स्विकारे । उनले भने, ‘हामीले इरानले बेहोर्न सक्ने समस्यालाई लिएर कुरा गरेका थियौं । हामी विश्वकपमा सहभागिता सहज चाहन्छौं ।’

बैठक टर्किएको फुटबल संघको मुख्यालयमा आयोजना गरिएको थियो । अब इरानी टिम पनि सोमबार टर्किए जानेछ र त्यहाँ बन्द प्रशिक्षणमा सहभागी हुनेछ । त्यहींबाट इरानी टिम अमेरिका जानेछ । इरानले त्यहाँ एक मैत्रीपूर्ण खेल पनि खेल्नेछ र त्यो गाम्बियाविरुद्ध रहेको छ । इरानी टिममा अहिले ३० खेलाडी रहेका छन् र अमेरिका जान अगाडि त्यसलाई २६ जनामा छोट्याउनुपर्नेछ ।  

इरानी टिममा सरदार अजमन भने हुने छैनन् । उनले इरानी टिमका लागि ५७ गोल गरिसकेका छन् । उनले यसअघि बायर लेभरकुजन र एएस रोमाका लागि खेलेका थिए । यी फरवार्डले केही समय अगाडि इरानमा चलेको सरकारविरोधी प्रदर्शनको समर्थन गरेका थिए । इरानी सरकारी मिडियाले उनलाई राष्ट्रघाती भनेको छ । अहिले उनी दुबईमा व्यावसायिक फुटबल खेलिरहेका छन् ।

इरान अहिले लगातार चौथो विश्वकप खेल्दै छ र उसले अमेरिका पुगेयता आफ्नो आधार क्षेत्र एरिजोनाको टस्कनमा राख्ने योजना छ । इरानको पहिलो खेल जुन १५ मा न्युजिल्यान्डविरुद्ध लस एन्जल्समा रहेको छ । त्यसपछि समूह ‘जी’ का खेलमा उसले बेल्जियम र इजिप्टको सामना गर्नेछ । 

एएफपी

Link copied successfully