यससँगै सिटीले यो सिजन इंग्लिस फुटबलका दुवै कप जितेको हो । यसअघि टोलीले लिग कप जितेको थियो ।
लन्डन — एन्टोइन सेमेन्योले दोस्रो हाफमा गरेको उत्कृष्ट निर्णायक गोलमा म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई फाइनलमा १–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । यससँगै सिटीले यो सिजन इंग्लिस फुटबलका दुवै कप जितेको हो । यसअघि टोलीले लिग कप जितेको थियो ।
वेम्बलीमा भएको फाइनलमा इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औं मिनेटमा चलाखीपूर्ण गोल गरे । दायाँ खुट्टाको ‘फ्लिक’ मा सम्भव गोलमा चेल्सी गोलरक्षक रोबर्ट सान्चेजसामु अवरोध तेर्स्याउने कुनै अवसर थिएन । उनी जनवरीमा मात्रै बर्नमाउथबाट सिटी आएका थिए ।
एक गोलले पछाडि रहेपछि चेल्सीले शृंखलाबद्ध आक्रमण गरे पनि ती निर्णायक हुन सकेन । अन्यथा खेलमाथि सिटीको पूर्ण नियन्त्रण रहेको थियो र टिम उपाधिका लागि पूर्ण हकदार रह्यो । सिटीका लागि प्रशिक्षकका रूपमा पेप ग्वार्डिओलाले जितेको यो २० औं उपाधि हो ।
हारले चेल्सी भने यो सिजन उपाधिविहीन हुनेछ । सिटी यसअघिका दुई एफए कप फाइनलमा पराजित रहेको थियो । म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसविरुद्धको फाइनल हारपछि सिटी अहिले विश्व फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिताको च्याम्पियन भएको हो । पूरा सिजन उतारचढावपूर्ण प्रदर्शन गरेको चेल्सीका लागि फाइनल हार निराशाजन रहनेछ ।
चेल्सी एफए कपको फाइनलमा पराजित भएको यो लगातार चौथोपल्ट हो । सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा छ र उपाधि जित्ने सम्भावना कायम छ । लिग तालिकामा आर्सनल ७९ अंकमा शीर्षमा छ भने सिटी २ अंकको दूरीमा छ । अब लिगमा दुई चरणको खेल मात्र बाँकी छ ।
