चेल्सी भने आफैं कमजोर छ, टोलीको पूरा सिजन उतारचढावबाट गुज्रिएको छ । यसबीच पनि चेल्सी घरेलु उपाधिविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ ।
What you should know
लन्डन — पेप ग्वार्डिओलालाई लाग्छ, आफ्नो टोली म्यानचेस्टर सिटी यति बेला थकित छ, तर शनिबार हुने चेल्सीविरुद्धको एफए कप फाइनलमा टोलीसँग उपाधिको भोक पर्याप्त छ । चेल्सी भने आफैं कमजोर छ, टोलीको पूरा सिजन उतारचढावबाट गुज्रिएको छ । यसबीच पनि चेल्सी घरेलु उपाधिविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ ।
प्रशिक्षक ग्वार्डिओलाको टिमले पछिल्लो समय इंग्लिस प्रिमियर लिग उपाधिको होडमा आर्सनललाई दबाबमा राखेको छ, यद्यपि लिग जित्ने सम्भावना आफ्नो हातमा छैन । त्यस अगाडि सिटीको उद्देश्य वेम्बलीमा घरेलु कप डबल गर्ने नै हुनेछ । सिटीले आर्सनललाई नै हराएर मार्चमा लिग कपको उपाधि जितेको थियो । बुधबार मात्रै सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई हराएको थियो ।
चेल्सविरुद्धको फाइनलपछि तीन दिनको अन्तरमा सिटीले बर्नमाउथको पनि सामना गर्दै छ । प्यालेसमाथिको जितमा ग्वार्डिओलाले टिममा ६ परिवर्तन गरेको थियो । अहिलेका लागि लिगमा दुई चरणको खेल बाँकी छ । आर्सनल २ अंकले अगाडि छ । ग्वार्डिओलाई लाग्छ सिटीको एकपछि अर्को खेल हुनुले चेल्सीलाई फाइदा हुनसक्छ ।
ग्वार्डिओला भन्छन्, ‘एफए कप पछि बर्नमाउथविरुद्धको खेल । हामीले अहिले प्रत्येक तीन दिनमा खेलिरहेका छौं । चेल्सीले भने फाइनलका लागि एक साताको प्रशिक्षण अवसर पाएको छ । अझ हामीलाई फाइनल खेल्न लन्डन जानु छ । चेल्सीका खेलाडी आरामले घरमै परिवारसँग रहेका छन् । हाम्रो टिम अहिले असाध्यै थाकेको छ ।’ त्यसैले प्यालेसविरुद्धको खेलमा इर्लिङ हालान्ड, रायन चेर्की र जेरेमी डुकु बेञ्चमै थिए ।
‘मलाई आफ्नो टिममा पूरा विश्वास छ, अझ प्यालेसविरुद्ध खेल्न नपाएका खेलाडीमा पनि । उनीहरू सबै उत्कृष्ट खेलाडी हुन्,’ ग्वार्डिओला भन्छन्, ‘यतिबेला खेलाडीलाई अझ बढी शक्ति चाहिएको छ । साभिन्हो, सेमेन्यो एन्टोन र ओमार मारामोसले फाइनल अगाडि केही आराम पाएका छन् । अब हाम्रो ध्यान फाइनलमै हुनेछ ।’ सिटी लगातार चौथो सिजन एफए कपको फाइनल खेल्दै छ ।
त्यसमध्ये दुई अवसरमा सिटी पराजित छ, सन् २०२५ मा प्यालेस अनि दुई वर्षअगाडि म्यानचेस्टर युनाइटेडसँग । ग्वार्डिओलाले सन् २०१९ र २०२३ मा एफए कप जितेका थिए । अहिले पनि सिटी च्याम्पियन हुन्छ भने एक दशक अगाडि यस क्लबमा आएयता यी स्पेनी प्रशिक्षकले २० औं उपाधि जित्नेछन् । अहिलेका लागि ५५ वर्षीय प्रशिक्षकको एक अर्को वेम्बली यात्रामा हुनेछ ।
उनी भन्छन्, ‘इंग्लिस फुटबलको सबैभन्दा पुरानो प्रतियोगिताको फाइनल खेल्नुको मज्जा बेग्लै छ । विश्वास गरौं, नतिजा हाम्रो पक्षमा हुनेछ ।’ उपाधि जितेको र अनुभवका आधारमा ग्वार्डिओलाको अगाडि चेल्सीका निमित्त प्रशिक्षक कलम म्याक फरलेनसँग देखाउनलाई केही पनि छैन, उनी कच्चा र नयाँ देखिन्छन् । लियान रोसेनियर क्लबमा बिताएको १ सय ६ दिनमै बर्खास्तगीमा परेपछि फरलेनले मौका पाएका हुन् ।
उनी यसअघि चेल्सीको यू–२१ टिमका प्रशिक्षक थिए । उनीसामु एफए कप उपाधिसँग क्लबमा पूर्णकालीन प्रशिक्षकको नियुक्त पाउने मौका हुनेछ । यो सिजन नै उनले दोस्रोपल्ट निमित्त प्रशिक्षकको भूमिका निभाइरहेका छन् । जनवरीमा इन्जो मारेस्का चेल्सीबाट बाहिरिँदा फरलेनले नै टिम सम्हालेका थिए । त्यति बेला लिगमा सिटीविरुद्धको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
पछिल्लो समय चेल्सीमा प्रशिक्षक आउने र जानेक्रम जारी छ । सन् २०२२ मा रोमन एब्राहिमोभिचबाट क्लबको स्वामित्व ब्लुकोले किनेयता टिममा स्थायित्व रहेको छैन । चेल्सीले लिगका पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन । टोलीको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने अवसर पनि समाप्त भइसकेको छ । यस्तोमा सन् २०१८ यता पहिलो पटक एफए कप जित्ने मौका ठूलो रहनेछ । उपाधि जिते चेल्सीसामु आफ्नो खराब सिजन बिर्सने अवसर हुनेछ ।
