रूपन्देही सुपरलिग : वेस्टर्न क्रिकेट क्लब विजयी

वेस्टर्नले ३४ ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाउँदै जित निकाल्यो ।

जेष्ठ २, २०८३

माधव ढुंगाना

Rupandehi Super League: Western Cricket Club wins

भैरहवा — रुपन्देही क्रिकेट संघको आयोजनामा पञ्चकन्या रुपन्देही सुपरलिगअन्तर्गत भैरहवामा जारी ‘ए’ डिभिजनको शनिबारको खेलमा वेस्टर्न क्रिकेट क्लब बिजयी भएको छ । वेस्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५० ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ७१ रन बनायो । उसका लागि गगन अधिकारीले ५५, विमल भट्टराईले २८, विशाल भुसालले २१, दिनेश विष्टले १९ र अनमोल श्रीस थापाले १७ रन बनाए ।

बलिङमा वेस्टर्नका सन्देश थापा र अभिशेष गौतमले ३–३ तथा कलम अली मुसलमानले २ र सुझाव थापाले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वेस्टर्नले ३४ ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले ५८, मिर्नाल गुरुङले ३२, अभिशेष गौतमले २१ तथा प्रज्ज्वल थापा र कलम अली मुसलमानले १९–१९ रनको योगदान गरे ।

बलिङमा जेआरका दिनेश विष्टले ३, कृष्ण पन्थीले २ तथा अशोक बोहरा र अनमोल श्रीस थापाले १–१ विकेट लिए । अभिशेष गौतम म्यान अफ द म्याच भई पुरस्कृत भए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully