नेपाल एपीएफ क्लबकी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला टोलीको कप्तान भएकी छन् । राष्ट्रिय टोलीलाई नेतृत्व गर्ने उनी छैटौं कप्तान हुन् ।
What you should know
काठमाडौँ — नेपाल एपीएफ क्लबकी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला टोलीको कप्तान भएकी छन् । राष्ट्रिय टोलीलाई नेतृत्व गर्ने उनी छैटौं कप्तान हुन् ।
प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल संघको कार्यसमिति बैठकले शुक्रबार निरुतालाई कप्तानका लागि अनुमोदन गरेको थियो । अहिले टोलीमा रहेका सिनियर खेलाडीमा उषा भण्डारी र सलिना श्रेष्ठ पनि दाबेदारमा थिए । तर उनीहरूभन्दा उमेरको हिसाबले परिवक्व र अन्तर्राष्ट्रिय म्याच अनुभवका कारण निरुताले कप्तानी जिम्मेवारी पाएकी हुन् ।
नेपालको महिला भलिबललाई पहिलो कप्तान गर्ने हेमा प्रधान हुन् । त्यसपछि सुष्मा थापा, अञ्जु श्रेष्ठ, विनिता बुढाथोकी र अरुणा शाहीले नेपालको महिला भलिबल टोलीको नेतृत्व गरेका छन् ।
पछिल्लो समय राष्ट्रिय महिला टोली कप्तानविहीन थियो । कप्तान अरुणा अस्ट्रेलिया लागेपछि टोली नेतृत्वविहीन थियो । महिला टोली घरेलु मैदानमा ८–१५ जेठदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काभा महिला च्याम्पियनसिप खेल्ने तयारीमा छ । निरुताको कप्तानी डेब्यु काभामै हुनेछ ।
दार्चुला नौगाडकी निरुताको भलिबल यात्रा राष्ट्रपति रनिङ सिल्डबाट सुरु भएको हो । ०७३ सालबाट उनले भलिबल खेल्न थालिन् । पहिला उनी एथलेटिक्सकी खेलाडी थिइन् । रनिङ सिल्डमा एथलेटिक्सका इभेन्टहरूमा भाग लिन्थिन् । एक जना गुरुको सल्लाहमा उनी रनिङ सिल्डकै भलिबलतर्फ लागिन् । राष्ट्रपति रनिङ सिल्डमा भलिबल दुई पटक खेलेको निरुतालाई सम्झना छ । त्यसपछि उनी भलिबलबाट टाढा हुन सकेकी छ्रैनन् । सात वर्षयता निरुताले राष्ट्रिय टोलीबाट खेलिरहेकी छन् ।
निरुता कुनै बेला सुदूरपश्चिम टोलीबाट खेल्थिन् । उनको प्रतिभालाई नियालेका अहिलेका प्रशिक्षक जगदीश भट्टले त्रिभुवन आर्मी क्लबसँग आवद्ध गराए । त्यसपछि निरुताको क्लब भलिबल यात्रा सुरु भएको थियो । उनले आर्मीमा झन्डै दुई वर्ष बिताइन् । आर्मी छाडेर उनी एपीएफमा पुगेकी हुन् । अहिले उनी एपीएफकी कप्तान पनि हुन् । निरुताले एपीएफलाई तीन पटक टाइगर कप, नवौं राष्ट्रिय खेलकुद, ढोरपाटन डबल लिग च्याम्पियनसिप, प्रधानमन्त्री कप, एनभीए क्लब च्याम्पियनसिपलगायत दर्जन प्रतियोगिता जितेकी छन् ।
सन् २०१९ मा एसियन सिनियर वुमेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपबाट निरुताले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । किर्गिस्तान, बंगलादेश, अफगास्तिानविरुद्धको प्रतिस्पर्धामा नेपाली टोली च्याम्पियन बनेको थियो ।
त्यसलगत्तै उनले १३ औं दक्षिण एसियाली खेलकुद खेलिन् । अरुणाको कप्तानी नेपालले सागको ऐतिहासिक रजत पदक जित्दा निरुता टोलीकी सदस्य थिइन् । सन् २०२३ मा १९ औं एसियाली खेलकुद खेलेकी निरुतासँग २०२४ मा काभा वुमेन्स भलिबल लिगमा उपविजेता र २०२३ मा काभा वुमेन्स च्यालेन्जमा तेस्रो भएको अनुभव छ ।
उनको टोली गत वर्ष माल्दिभ्समा काभा वुमेन्स क्लब च्याम्पियनसिपमा विजेता बनेको थियो । धेरै पटक उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएकी निरुता एभरेस्ट महिला फ्रेन्चाइज लिगमा मधेश युनाइटेडकी मार्की खेलाडी हुन् ।
आसन्न काभा च्याम्पियनसिपमा आधा दर्जन नयाँ खेलाडीले भने अवसर देखिएको छ । विगतमा उपलब्धि दिलाएका अधिकांश खेलाडी विदेश लागेका छन् । सरस्वती चौधरी, प्रतिभा माली, साफिया पुन, कविता भट्ट, पुनम चन्दजस्ता खेलाडी अस्ट्रेलिया पुगेका छन् । त्यसैले निरुताले केही पुराना र धेरै नयाँ खेलाडीको मिश्रण बन्ने टोलीलाई सम्हाल्नुपर्नेछ ।
कप्तान नियुक्त भएपछि निरुताले भनिन्, ‘राष्ट्रिय टोलीलाई नेतृत्व दिन पाउनु नै मेरा लागि ठूलो अवसर हो । यो मेरो कल्पनाबाहिरको कुरा हो । यो जिम्मेवारीलाई सफलतापूर्वक अगाडि बढाउन सक्नु भन्ने विश्वास छ ।’
निरुताले टिम, प्रशिक्षक, संघ सबैको सहयोगमा चुनौतीलाई पार गर्ने विश्वास दिलाइन् । उनले भनिन्, ‘सबैको साथ सहयोगमा जस्तोसुकै चुनौती पनि पार गर्न सकिन्छ । टिम र देशको प्रतिष्ठा बढाउन आफूले सक्दो मिहिनेत गर्नेछु । धेरै कुरा सिक्न बाँकी नै छ । यसलाई जिम्मेवारीबोध गर्दै अघि बढ्नेछु ।’
काभामा नेपालले ठूलो चुनौती नै सामना गर्नुपर्नेछ । दुई पटकको च्याम्पियन नेपाललाई घरेलु भूमिमा उपाधि जित्ने अवसर छ । तर, नेपाल रहेको ‘ए’ समूहमा निकट प्रतिद्वन्द्वी भारत, किर्गिस्तान र माल्दिभ्स जस्ता टिम छन् । अर्को ‘बी’ समूहमा इरान, श्रीलंका, बंगलादेश र काजकिस्तान रहेको छ ।
