बलियो अमेरिकाविरुद्ध नेपालको परीक्षा

नेपालले अन्तिम पटक अमेरिकालाई पराजित गरेको जिम्बावेमा २०२३ को विश्वकप छनोटमा हो, यस लिग २ सर्कलका चारै खेलमा अमेरिका विजयी छ।

जेष्ठ २, २०८३

विनोद पाण्डे

Nepal's test against a strong America

What you should know

काठमाडौँ — नेपाल र अमेरिका शनिबार क्रिकेट विश्वकप लिग २ शृंखलामा आमनेसामने हुनलाग्दा दुवै टोलीले साझा समस्या झेलिरहेका छन् । नेपालले लिग २ को शीर्ष चारभित्र पर्ने मौका गुमाउँदै गएको छ भने अमेरिकाले शीर्षस्थान गुमाउन पुगेको थियो ।

स्कटल्यान्डसँग पहिलो खेलमा उस्तै किसिमको पराजय भोगेपछि नेपाल र अमेरिकाको समस्या बल्झिएको हो । स्कटल्यान्डले निकै रोमाञ्चक खेलमा नेपाल र अमेरिकामाथि जित हात पारेपछि अमेरिकालाई उछिन्दै शीर्षस्थानमा उक्लिएको थियो । स्कटल्यान्डको दुवै विजयमा २ रनको मात्र अन्तर थियो । पहिला नेपालले जुन पीडा सहनुपर्यो, त्यो अमेरिका पनि अंगाल्न बाध्य भयो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गुलशन झाले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई विजय नजिक पुर्‍याएका थिए भने साइतेजा मुकामल्लाले सानदार शतक बनाएर अमेरिकालाई अविस्मरणीय विजयतर्फ धकेलेका थिए । तर दुवै खेलमा तीव्र बलरद्वय ब्राड करी र ब्रान्डन म्याकमुलेनले परिपक्व बलिङ गर्दै स्कटल्यान्डलाई विजय दिलाएका थिए ।

स्कटल्यान्डसँगको पराजयपछि नेपालमाथि एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउने दबाब चुलिँदै गएको छ । नेपाल २५ खेलमा १८ अंकसाथ आठ राष्ट्र प्रतिस्पर्धी लिग २ को सातौं स्थानमा छ । लिग २ का शीर्ष चार टोली विश्वकपमा सोझै छनोट हुने प्रावधानमा स्कटल्यान्ड र अमेरिका यो क्षेत्रमा सुरक्षित भइसकेका छन् । यी दुई टोली उपाधिको होडमा छन् । स्कटल्यान्ड ३० खेलमा ३८ र अमेरिका २५ खेलमा ३६ अंकसहित पहिलो दुई स्थानमा छन् ।

अमेरिका त्यही टोली हो, जसले नेपाललाई २०२४–२७ को लिग २ सर्कलमा खेलेका चारै खेलमा पराजित गरेको छ । अझ अमेरिकासँगको पछिल्लो ८ खेलमा नेपाल ६ मा पराजय छ । नेपालले एक खेलमा विजय हात पारेको छ भने एक खेल ‘टाइ’ भएको थियो । त्यो ‘टाइ’ अमेरिकाका वर्तमान प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको हाँकिरहेका बेला २०२२ मा ह्युस्टनमा भएको थियो ।

नेपाललाई सन् २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलाएका पुबुदुको प्रशिक्षणमा अमेरिकाले उच्च प्रदर्शन गर्दै आएको छ । उनले नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका छन् । तर उनी भन्छन्, ‘नेपालमा कन्डिसनको हिसाबमा खेल्न निकै कठिन छ, अझ नेपाललाई नेपालमै पराजित गर्न झनै कठिन छ । हामी यहाँ जतिसक्दो बढी खेल जितेर शीर्षस्थान मजबुत बनाउन चाहन्छौं ।’

नेपालले अन्तिम पटक अमेरिकालाई पराजित गरेको सन् २०२३ को विश्वकप छनोटमा जिम्बावेमा हो । नेपालले त्यतिखेर लिग २ मा अन्तिम १२ मध्ये ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको थियो, त्यसमध्ये नेपालले घरेलु मैदानमा खेलिएका सबै ८ खेलमा विजय हात पारेको थियो । यसपालि नेपालको प्रदर्शन त्यसअनुरुप हुन सकेको छैन । नेपालले घरेलु मैदानमा खेलिएका ९ खेलमा ५ मा पराजय भोगिसकेको छ ।

नेपालले लिग २ को यस शृंखलामा ३ खेलबाहेक अर्को दुई शृंखलामा ८ खेल खेल्न बाँकी छ । प्रत्येक खेलसँग नेपालमाथि दबाब जेलिँदै गएको छ । यो शृंखलाबाहेक नेपालले नेदरल्यान्ड्स गएर डच र नामिबिया तथा ओमान गएर ओमान र क्यानडासँग खेल्न बाँकी छ ।

अमेरिकासँगै नेपालले प्रतिकूल मौसम पनि झेल्नुपर्ने हुन्छ । दिवासत्रमा शनिबार वर्षा हुने मौसम पूर्वानुमान छ । यसअघिको लिग २ को शृंखलामा नेपालले यूएईसँग २ र ओमानसँग १ खेल जितेको थियो भने अर्को खेलमा पराजय भोगेको थियो । मध्य इनिङ्सका दौरान वर्षाले खेल रोकिएपछि ओमानभन्दा नेपाल १ सय २ रनले पछाडि परेको थियो । स्कटल्यान्डसँग पनि नेपाल डकवर्थ लुइस पद्धतिका आधारमै पराजित भएको हो ।

स्कटल्यान्डले अमेरिकासँग ४७ ओभरमा छोट्याएको खेलमा ६ विकेट गुमाई ३ सय २१ रन बनाएको थियो, जुन कीर्तिपुर मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको उच्च स्कोर पनि हो । तर नेपाल यही विकेटमा ब्याटिङका लागि संघर्ष गरिरहेको छ । आसिफ शेख, विनोद भण्डारी, अर्जुन कुमाल, कप्तान रोहित पौडेलमाथि उच्च ब्याटिङ गर्नुपर्ने दबाब छ । पछिल्लो ३ खेलमा खेल्न नपाएका कुशल भुर्तेल सम्भवतः नेपालको प्लेयिङ ११ मा फर्किन सक्नेछन् ।

नेपालको ब्याटिङ दीपेन्द्रसिंह ऐरी र गुलशन झामै टिकेको छ । दीपेन्द्रले व्यस्त नेपाली क्रिकेटको लिग २ को पछिल्लो ५ खेलमा कीर्तिपुरमा १ शतक र ३ अर्धशतकसहित ३ सय २३ रन बनाएका छन् । अर्धशतक बनाउन नसकेको ओमानविरुद्धको खेलमा उनले ३३ रन जोडेका थिए । गुलशनले स्कटल्यान्डविरुद्ध ३५ बलमै २ चौका र ५ छक्कासहित ६१ रन बनाएका थिए । उनले लिग २ को पछिल्ला चार खेलमा २ मा अविजित रहित १ सय २६ रन बनाइसकेका छन् भने ७ विकेट लिएका छन् ।

अमेरिकाले लिग २ को यात्रामा बेजोड ब्याटिङ प्रदर्शन गर्दै आएको छ । मुकामल्लाले स्कटल्यान्डसँग बिहीबार ७५ बल खेल्दै ५ चौका र ८ छक्कासहित १ सय ४ रन बनाए पनि अमेरिका पराजित थियो । ‘नेपालसँग खेल्न निकै उत्साही छु, मैले गत वर्षको नेपाल प्रिमियर लिग हेरेको थिएँ, त्यसले धेरै बुझ्ने अवसर दिएको थियो,’ स्कटल्यान्डसँग खेलेपछि मुकामल्लाले भनेका थिए ।

आजको खेल

नेपालविरुद्ध अमेरिका

कीर्तिपुर मैदान

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully