कुशलको अविजित १ सय २० रनमा नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९६ रनको लक्ष्य ३६.४ ओभरमै १ सय ९९ रन बनाउँदै पूरा गर्यो ।
What you should know
काठमाडौं — कुशल भूर्तेलको शतकमा नेपालले क्रिकेट विश्वकप लिग २ मा शनिबार अमेरिकामाथि ९ विकेटको सानदार विजय हात पारेको छ ।
कुशलको अविजित १ सय २० रनमा नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९६ रनको लक्ष्य ३६.४ ओभरमै १ सय ९९ रन बनाउँदै पूरा गर्यो ।
कुशलले १ सय १८ बलको इनिङ्समा १३ चौका र ४ छक्का प्रहार गरे । कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाएका हुन् । सन् २०२३ को फेब्रुअरीमा पनि उनले नामिबियाविरुद्ध कीर्तिपुरमै १सय १५ रन बनाएका थिए ।
कुशलले आसिफ शेखसँग पहिलो विकेटमा १ सय ४५ रन जोडेर नेपालको विजय आधार बनाएका थिए । नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा यो चौथो ठूलो साझेदारी हो । कुशल र आसिफले पहिलो विकेटमा चौथो पटक शतकीय साझेदारी निभाएका हुन् ।
आसिफ २७ औं ओभरमा आउट भएपछि यो साझेदारी टुटेको थियो । आसिफले ५८ रन बनाए । उनले ७२ बल खेली ८ चौका प्रहार गरे । ‘डेब्यु’ गरिरहेका इशान पाण्डे २० रनमा अविजित रहे । विजयी चौका प्रहार गरेका उनले ३० बल खेले ।
लिग २ को २०२४–२७ सर्कलमा नेपालले अमेरिकालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि अमेरिकाले सबै खेल जितेको थियो । जिम्बावेमा २०२३ मा विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेयता नेपालले अमेरिकामाथि पहिलो विजय हात पारेको हो ।
नेपालको २६ खेलमा २० अंक छ । आठ राष्ट्र सहभागि प्रतियोगितामा नेपाल सातौं स्थानमा यथावत् छ । अमेरिका २६ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानका साथ नेपाल आएको अमेरिकाको यो लगातार दोस्रो पराजय हो । अघिल्लो खेलमा स्कटल्यान्डसँग पनि पराजित भएको थियो ।
शनिबारको खेलमा टस जितेर ब्याटिङ रोजेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रनमा अलआउट भएको थियो । निकै दमदार ब्याटिङ गरेको अमेरिकाविरुद्ध नेपाल उत्कृष्ट फिल्डिङ गर्दै खेलमा फर्किएको थियो ।
२३ औं ओभरमा १२२–१, ३१ औं ओभरमा १५८–३ को मजबुत अवस्थामा रहेको अमेरिका अन्तत ६ ओभरभन्दा अगाडि नै अलआउट हुन पुग्यो । सायन जहाँगिर ६ रनमै आउट भए पनि ओपनर स्मित पटेलले सेहन जयसुर्यासँग मिलेर दोस्रो विकेटमा १ सय रन जोडेका थिए । जयसुर्याले ५२ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए ।
सोमपाल कामीको बलमा आसिफ शेखले १४ रनमा सजिलो क्याच छाडेको स्मितले भरपुर फाइदा उठाए । स्मित ८९ रन बनाई सोमपालकै बलमा आसिफबाट उत्कृष्ट क्याच भएर पेभेलियन फर्किए । उनले ८९ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे । जयसुर्या र स्मित दुबैको विकेट सोमपालले लिए ।
अमेरिका आफ्ना कप्तान मोनान्क पटेल बिनै खेलेको थियो । स्कटल्यान्डसँग बिहीबार भएको खेलमा उनलाई औंलामा चोट लागेको थियो । उनको स्थानमा अमेरिकाको कप्तानी गरिरहेका साइतेजा मुकामल्लालाई सन्दीप लामिछानेले बोल्ड गरे । वैकल्पिक फिल्डर भीम सार्कीले आसिफसँग मिलेर शुभम रञ्जनेलाई २ रनमा रनआउट गरे ।
आसिफले मिलिन्द कुमार २० रनमा हुँदा स्टम्प आउट गर्ने अवसर गुमाउन पुगेका थिए । खेलभरी नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै अमेरिकालाई टिक्न दिएन । मिलिन्द ४१ बल खेली समान २ चौका र छक्का प्रहार गरी २८ रनमा आउट भए ।
मोनान्कको स्थानमा खेलेका सञ्जय कृष्णमुर्थी १ रनमा बनाई गुलशन झाको बलमा आउट भए । दीपेन्द्रसिंह ऐरी र आसिफ मिलेर मोहम्मद मोहसिनलाई शून्यमा रन आउट गरे । दीपेन्द्रले नोसथस केन्जिगेलाई १ र हरमित सिंहलाई १४ रनमा आउट गरे ।
दीपेन्द्रले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । सोक्रममा उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गरे । सोमपालले ७ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ तथा सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४१ र गुलशनले ४ ओभरमा २८ रन खर्चेर १–१ विकेट लिए ।
