एन्फामाथिको निलम्बन फुकुवा

एन्फा प्रवक्ता सुरेश शाहले भनेका छन्, ‘आजदेखि हामीमाथिको निलम्बन फुकुवा भएको छ । यो फुकुवा विनासर्त भएको हो ।’ उनका अनुसार अब एन्फा आफ्नो नियमित प्रक्रियामा जानेछ ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

ANFA suspension lifted

What you should know

काठमाडौँ —  

राष्ट्रिय खेलकुद परिषद्ले अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन शुक्रबार फुकुवा गरेको छ । परिषद्ले एन्फालाई ११ चैतमा तीन महिनाका लागि निलम्बन गरेको थियो । त्यतिबेला आफ्नो निर्देशन पालना नगरेको र स्पष्टीकरण सन्तोषजनक नदिएको तथा आफ्नो स्वीकृति विना अर्ली निर्वाचन प्रक्रिया अगाडि बढाएको राखेपद्वारा आरोप लगाइएको थियो ।

तर अहिले निलम्बन फुकुवा गर्दा एन्फाको दाबी छ, परिषद्ले कुनै प्रकारको सर्त राखेको छैन । त्यसैले अहिले फेरि एकपल्ट नेपाली फुटबल त्यही स्थितिमा पुगेको छ, जहाँ एन्फाको संस्थापन पक्षले चुनाव गर्न चाहेको छ । एन्फा प्रवक्ता सुरेश शाहले भनेका छन्, ‘आजदेखि हामीमाथिको निलम्बन फुकुवा भएको छ । यो फुकुवा विनासर्त भएको हो ।’ उनका अनुसार अब एन्फा आफ्नो नियमित प्रक्रियामा जानेछ ।

निलम्बन फुकुवाका लागि शुक्रबार नै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित टोलीको बैठक बसेको थियो । त्यसमा उनका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार र परिषदका सदस्यसचिव रामचरित्र मेहता उपस्थित थिए । एन्फाका तर्फबाट भने महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता साहले बैठकमा भाग लिएका थिए । प्रवक्ता साहले अब सबै पक्ष मिलेर नेपाली फुटबललाई अगाडि बढाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

परिषद्को निलम्बनपछि एन्फाले १३ चैतमा तय आफ्नो अर्ली इलेक्सन स्थगित भएको घोषणा गरेको थियो । यसबीच एन्फाले आफूमाथिको निलम्बन फुकुवा नगरेमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपाली फुटबललाई प्रतिबन्ध लगाउने बताउँदै आएको थियो । परिषद्ले पनि फिफासामु समस्या समाधानका लागि भौतिक रूपमा छलफलको प्रस्ताव राखेको थियो, तर फिफाले त्यसलाई मानेको थिएन ।

त्यसअघि परिषद, फिफा र एन्फा प्रतिनिधिबीचको भर्चुअल वार्तामा विश्व फुटबलको सर्वोच्च संस्थाले परिषद्को निलम्बनले नेपाली फुटबलमाथि तेस्रो पक्षको हस्तक्षेप भएको बताएको थियो । तर परिषदका पदाधिकारीको भने एन्फा तहगत चुनावका लागि तयार भएको दाबी छ । ती पदाधिकारीका अनुसार एन्फाले आफू तहगत चुनाव गर्न तयार भएको जानकारी परिषद्लाई दिएको थियो ।

एन्फाले अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको चारवर्षे कार्यकाल सकिन अगाडि नै चुनावमा जाने निर्णय गरेको थियो र यसका लागि तहगत चुनाव गर्न भने तयार भएको थिएन । तर अबको घटनाक्रमअनुसार एन्फाले नयाँ चुनावको जाने कार्यक्रम अगाडि सार्नेछ र त्यसका लागि तहगत चुनाव हुनेछ । एन्फाले भने निलम्बन फुकुवाका क्रममा कुनै प्रकारका यस्तो सर्त स्वीकार नगरिएको बताएको छ ।

निलम्बन फुकुवाको निर्णयपछि अबको दुई सातामा भारतको गोवामा हुने महिला साफ च्याम्पिनयसिप फुटबलमा नेपालको सहभागिताबारे रहेको अन्योल समाप्त भएको छ । विवादकै कारण नेपाली महिला टिमले फिफाको कार्यक्रमअन्तर्गत थाइल्यान्डमा हुने प्रतियोगिता गुमाएको थियो । यही विवादबीच नै चालु स्थितिमा रहेको राष्ट्रिय लिग र सहिद स्मारक महिला लिग पनि स्थगित भएको थियो । यी दुई लिगमा विदेशी खेलाडीले विना श्रम स्वीकृति खेलेको आरोप पनि लागेको थियो ।

कान्तिपुर

Link copied successfully