अमेरिकाविरुद्ध स्कटल्यान्डको दमदार ब्याटिङ

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि आएको स्कटल्यान्डले ४७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाई ३ सय २१ रन बनाएको हो ।

वैशाख ३१, २०८३

विनोद पाण्डे

Scotland's strong batting against America

What you should know

काठमाडौँ — फिन्ले म्याकक्रिथ, ब्रान्डन म्याकमुलेन र म्याथ्यु क्रसको अर्धशतकमा स्कटल्यान्डले क्रिकेट विश्वकप लिग २ को बिहीबार अमेरिकालाई ३ सय २२ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि आएको स्कटल्यान्डले ४७ ओभरमा छोट्याएको खेलमा ६ विकेट गुमाई ३ सय २१ रन बनाएको हो । 

अघिल्लो खेलका हिरो जर्ज मन्सी २६ बल खेली २ चौका र १ छक्का प्रहार गरी २० रनमा आउट भए पनि स्कटल्यान्डको आक्रामक ब्याटिङ कायमै रहेको थियो । म्याकमुलेनले ४० बल खेली ५ चौका र ३ छक्का प्रहार गरी ५५ रन बनाए । कप्तान रिची बेरिङ्टन १० रनमै आउट भए । 

Scotland's strong batting against America

ओपनर म्याकक्रिथले १ सय २ बल खेली ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रन बनाए । माइकल इंग्लिसले ३५ बल खेली १ चौका र २ छक्कासहित ३२ र क्रसले ३२ बल खेली ८ चौका र २ छक्कासहित ५८ रन बनाए । मार्क वाट १३ बल खेली २ चौका र १ छक्का प्रहार गरी २५ र माइकल लिस्क १२ बल खेली १ चौका र ३ छक्का प्रहार गरी २८ रनमा अविजित रहे । यी दुईले २१ बलमा ५० रनको अविजित साझेदारी गरे ।

अमेरिकाबाट सौरभ नत्राभाल्करले ९ ओभरमा ४४ र जसदिप सिंहले १० ओभरमा ७७ रन खर्चेर २–२ विकेट लिए । मिलिन्द कुमार र शुभम रन्जनेले १–१ विकेट लिए । 

मैदान भिजेका कारण खेल १ घन्टा ढिला १०.३० बजे सुरु भएपछि ४७–४७ ओभरमा छोट्याइएको थियो । स्कटल्यान्डले बिहीबार आफ्नो पहिलो खेलमा नेपाललाई २ रनले पराजित गरेको थियो । सो टोलीबाट स्कटल्यान्डले ज्याक जार्भिसको स्थानमा अर्का तीब्र बलर साफियान सरिफलाई खेलाएको छ । 

अमेरिकाले नेपालको यस लिग २ शृंखलामा पहिलो पटक खेलिरहेको हो । दुबै टोलीको समान ३६ अंक छ । राम्रो रन रेटका कारण अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा । स्कटल्यान्डको २९ खेलको तुलनामा अमेरिकाले २४ खेलमात्र खेलेको छ ।

नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा अमेरिका खेलिरहेको छ । अमेरिकाले लिग २ को पछिल्लो ८ मध्येको ७ खेल जितेको छ भने ओमानसँगको एक खेल ‘टाई’ भएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully