अमेरिकाले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर स्कटल्यान्डलाई पहिला ब्याटिङका लागि बोलाएको छ ।
काठमाडौँ — स्कटल्यान्डले क्रिकेट विश्वकप लिग २ को बिहीबारको खेलमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर स्कटल्यान्डलाई पहिला ब्याटिङका लागि बोलाएको छ ।
मैदान भिजेका कारण खेल १ घन्टा ढिला १०.३० बजे सुरु भएको छ । खेल ४७–४७ ओभरको हुनेछ । स्कटल्यान्डले बिहीबार आफ्नो पहिलो खेलमा नेपाललाई २ रनले पराजित गरेको थियो । सो टोलीबाट स्कटल्यान्डले ज्याक जार्भिसको स्थानमा अर्का तीब्र बलर साफियान सरिफलाई खेलाएको छ ।
अमेरिकाले नेपालको यस लिग २ शृंखलामा पहिलो पटक खेल्न लागेको हो । दुबै टोलीको समान ३६ अंक छ । राम्रो रन रेटका कारण अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा । स्कटल्यान्डको २९ खेलको तुलनामा अमेरिकाले २४ खेलमात्र खेलेको छ ।
नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा अमेरिका खेलिरहेको छ । अमेरिकाले लिग २ को पछिल्लो ८ मध्येको ७ खेल जितेको छ भने ओमानस“गको एक खेल ‘टाई’ भएको थियो ।
