राष्ट्रिय ब्याडमिन्टन : रसिला र प्रिन्सको सहज जित

मेन्स सिंगलतर्फ एपीएफबाट खेलेका प्रिन्सले कोशी प्रदेशका विशाल तामाङलाई २१–१०, २१–१७ को सोझो सेटमा हराए ।

वैशाख ३१, २०८३

ध्रुव तुलाधर

काठमाडौँ — त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा बिहीबार शीर्ष खेलाडीद्वय प्रिन्स दाहाल र रसिला महर्जनले विजयी सुरुआत गरेका छन् । दुवै पहिलो वरीयताप्राप्त खेलाडी हुन् ।

मेन्स सिंगलतर्फ एपीएफबाट खेलेका प्रिन्सले कोशी प्रदेशका विशाल तामाङलाई २१–१०, २१–१७ को सोझो सेटमा हराए । महिलातर्फ पहिलो वरीयताकी आर्मीकी रसिलाले कर्णालीकी निशा सिंहलाई २१–३, २१–८ ले सहजै हराइन् । दोस्रो वरीयताकी कोशीकी नङसल तामाङले एपीएफकी अश्रुति कार्कीविरुद्ध २१–५, २१–११ को नतिजा निकाल्दा तेस्रो वरीयताप्राप्त आर्मीकी अमिता गिरीले मधेशकी श्रुति साहलाई २१–२, २१–८ ले हराइन् । चौथो वरीयताकी आर्मीकीरिहाना शेरचन, छैटौं वरीयताकी नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, सातौंकी पुलिसकी सीता राई र आठौं वरीयताकी बागमतीकी आयुष्मा नेपाल सहज जितका साथ दोस्रो चरण पुगेका छन् ।

पुरुषतर्फ तेस्रो वरीयताका आर्मीका प्रफुल महर्जनले कर्णालीका हिमा लामालाई २१–४, २१–३ ले हराए । छैटौं वरीयता पाएका पुलिसका दीपक बोहराले प्रतिस्पर्धात्मक खेलमा मधेशका सुमित थोकरलाई २१–१९, १५–२१, २१–१७ ले हराएका थिए । पाँचौं वरीयताप्रताप्त एपीएफका देवराज रानाले कोशीमा महेश खड्कालाई २१–१२, २१–१२ ले र एपीएफका क्षितिज खनालले सुदूरपश्चिमका आशिष खत्रीलाई २१–५, २१–१२ ले हराए । नवौं वरीयताका पुलिसका पूर्णबहादुर थापा भने आर्मीका सुविन श्रेष्ठसँग १९–२१, ६–२१ ले पराजित भए । कोशीका आन्द्रेस लिम्बूले एपीएफका सुमन लिम्बूलाई सोझो सेटमा हराए ।२ जेठसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका १ सय १५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully