रूपन्देही सुपरलिगमा बुद्ध क्रिकेट क्लब विजयी

टस हारेर ब्याटिङको निम्तो पाएको जेआरले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ५ बलमा समेटिँदै १ सय ४० रन बनायो । झिनो लक्ष्य पछ्याएको बुद्ध ३१ ओभरमा ७ विकेट गुमाउँदै विजयी भयो ।

वैशाख ३१, २०८३

माधव ढुंगाना

Buddha Cricket Club wins in Rupandehi Super League

भैरहवा — रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पञ्चकन्या रूपन्देही सुपरलिगअन्तर्गत ‘ए’ डिभिजनको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । बुद्धले जेआर क्रिकेट क्लबलाई बिहीबार ३ विकेटले पराजित गरेको हो । 

स्थानीय सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जेआरले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ५ बलमा समेटिँदै १ सय ४० रन बनायो । 

उसका लागि खडक बोहराले २६, विशाल भुसालले २४, दिनेश विष्टले २१, राज खनालले १९, विमल भट्टराईले १४, गगन अधिकारीले ११ र अनमोल श्रीस थापाले १० रन बनाए । बलिङमा बुद्धका दिलसाद अलीले ३, विपिनप्रसाद शर्मा र अमित अग्रहरीले २–२ तथा गौतम जीसी, अजय त्रिपाठी र प्रवेज अन्सारीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्धले ३१ ओभरमा ७ विकेट गुमाउँदै विजयी लक्ष्य भेट्टायो । बुद्धको जितमा सुरज पौडेलले २७, मिथलेश यादवले २६, दिलसाद अलीले २५, गौतम जीसीले २२ र हरिकेश मुराउले १० रन बनाए । बलिङमा जेआरका दिनेश विष्टले २ तथा घनश्याम पाण्डे, कृष्ण पन्थी, विशाल भुसाल र विनय जीसीले १–१ विकेट लिए । 

खेलमा बुद्धका दिलसाद अली ‘प्लेयर अफ द म्याच’ भई १ हजार २ सय रुपैयाँ नगदबाट पुरस्कृत भए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully