अमेरिका र स्कटल्यान्डको शीर्षमा रहने होड

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार हुने अमेरिका र स्कटल्यान्डबीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउने छ ।

वैशाख ३१, २०८३

विनोद पाण्डे

America and Scotland battle for top spot

What you should know

काठमाडौँ — क्रिकेट विश्वकप लिग २ को नयाँ सर्कल २०२४ बाट सुरु भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार हुने अमेरिका र स्कटल्यान्डबीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउने छ ।

दुवै टोलीको समान ३६ अंक छ । राम्रो रनरेटका कारण अमेरिका शीर्षस्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा । स्कटल्यान्डको २९ खेलको तुलनामा अमेरिकाले २४ खेलमात्र खेलेको छ । अमेरिका शीर्षस्थान कायमै राख्न चाहान्छ भने स्कटल्यान्ड लिग २ को उपाधि रक्षा गर्ने दाउमा छ । 

अमेरिकाले नेपालको यस लिग २ शृंखलामा पहिलो पटक खेल्न लागेको हो । नेपालमा खेलिने ४ खेलमा आफूअनुकूल नतिजा ल्याए अमेरिका लिग २ को विजेता बन्ने बलियो सम्भावना छ । स्कटल्यान्डले मंगलबार नेपाललाई २ रनले पराजित गरी अमेरिकासँगै समान अंक बनाएको थियो । जर्ज मन्सीले बलमा ७५ रन बनाउनुका साथै ब्राड करीले कसिकसाउ बलिङ गर्दै ३ विकेट लिएपछि स्कटल्यान्डले कीर्तिपुरमा नेपालमाथि पहिलो जित हात पारेको थियो ।

स्कटल्यान्ड सन् २०२३ मा पछिल्लो पटक काठमाडौं आउँदा नेपालसँग दुवै खेलमा पराजित भएको थियो । तर नामिबियालाई दुवै खेलमा पराजित गर्दै स्कटल्यान्ड नेपाली भूमिमा लिग २ को विजेता बनेको थियो । अमेरिका सन् २०२० यता पहिलो पटक नेपाल आएको हो । अमेरिका पछिल्लो पटक काठमाडौं आउदा नेपाल र ओमानसँग २–२ खेलमै पराजित भएको थियो । त्यसमा नेपालसँगको खेलमा टोली ३५ रनमै अलआउट भएको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै सबैभन्दा सानो स्कोर थियो । 

तर नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले टोली सम्हालेयता अमेरिका फेरिएको छ र लगातार जित निकाल्दै आएको छ । उनले नेपालमा खेल्न सबैभन्दा कठिन भएको बताउँदै आएका छन् । स्कटल्यान्डका तीव्र गतिका बलर करीले नेपालसँगको खेलमा विजय हात पारेपछि अमेरिकासँगको खेललाई लिएर भन्दै थिए, ‘अमेरिका धेरै राम्रो टोली हो, उसले धेरै राम्रो खेलेर यो स्थितिमा आइपुगेको छ । तर हामीले अहिले शीर्ष चारलाई हेरिरहेका छौं ।’

अमेरिकाले लिग २ को पछिल्लो ८ मध्ये ७ खेल जितेको छ भने ओमानसँगको एक खेल ‘टाइ’ भएको थियो । लिग २ को यात्रामा अमेरिकाबाट मिलिन्द कुमारले १ हजार १६ रन बनाइसकेका छन् भने साइतेजा मुकामल्लाले २० खेलमा ८ सय ७४ रन र कप्तान मोनान्क पटेलले २४ खेलमा ८ सय ४२ रन बनाइसकेका छन् । बलिङमा पूर्व कप्तान सौरभ नेत्राभाल्करले १९ खेलमा ३५ विकेट लिएका छन् ।

अमेरिकाले २४ मध्ये १८ खेल जितेको छ भने ६ मा पराजय बेहोरेको छ । त्यसमध्ये दुई हार डालासमा स्कटल्यान्डविरुद्ध नै थियो । दुई वर्षअघि लिग २ शृंखलामा स्कटल्यान्डले पहिलो खेलमा ३ सय १७ रन बनाउँदै जितेको थियो भने दोस्रो खेलमा अमेरिकालाई १ सय ४४ रनमा अलआउट गर्दै १० विकेटको जित हात पारेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully