छैटौं रारा ट्रेल रन सुरु

१६ किलोमिटर दूरीको ट्रेल रनमा ३१२ जना पुरुष र ४९ जना महिला धाविकाले भाग लिएका छन् ।

वैशाख ३०, २०८३

डीबी बुढा

The sixth Rara Trail Run begins

जुम्ला — मुगुको रारातालमा छैटौं रारा ट्रेल रन सुरु भएको छ । हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको रारा ट्रेल रन सुरु भएको हो ।

रारा ट्रेल रनमा ४ सय सात जनाले भाग लिएका छन् । १६ किलोमिटर दूरीको ट्रेल रनमा ३१२ जना पुरुष र ४९ जना महिला धाविकाले भाग लिएका छन् ।

५ किलोमिटर रनमा ३१ जना पुरुष र १५ जना महिलाले भाग लिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मले जानकारी दिएको छ । 

खेल क्षेत्रमा युवायुवतीको आकर्षण बढाउन, कर्णाली खेल पर्यटनका हिसाबले पनि संभावनायुक्त क्षेत्र भएको चिनाउन र खेलाडीहरुको प्रतिभा पहिचानको लागि यो प्रतियोगिता हरेक वर्ष भइरहेको छ । 

यो रारा ट्रेल रनले नागरिक सैनिक सम्बन्धलाई बलियो बनाउने अपेक्षा राखिएको छ । रारा ट्रेल रन १६ किलोमिटरको दूरीमा हुनेछ । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका धावक धाविकाहरुले सहभागिता जनाएका छन् । यससँगै १० वर्षदेखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर रन फर फनसमेत भएको छ ।  

नेपाली सेनाले फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको छ । रारा ट्रेलमा प्रथम हुनेलाई ५० हजार रुपैयाँ नगद, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully