टेनिस खेलाडी अभिषेकको आईटीएफ वरीयतामा फड्को

१३ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका अभिषेकको ८ वर्षदेखि नै टेनिस यात्रा सुरु भएको थियो ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Tennis player Abhishek's leap in ITF rankings

काठमाडौं — नेपाली व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले वर्ल्ड टेनिस फेडेरेसन (आईटीएफ)को वरीयतामा राम्रो सुधार गरेका छन् ।  

सन् २०२६ को ११ मेमा आईटीएफद्वारा जारी वरीयतामा अभिषेक १२९२औं स्थानमा उक्लेका छन् । वर्ष २०२६ को सुरुआती चार महिनामा उनले खेलका आईटीएफ, एटीपीका प्रतियोगिताको नतिजाअनुसार वरीयतामा सुधार आएको हो । अभिषेकले ७ जित र ३ हार बेहोरेका छन् । त्यसमा क्ले कोर्टमा दुई र हार्डकोर्टमा ५ जित समावेश रहेको छ ।  

आईटीएफको उनको उच्च वरीयता भनेको १२१५ हो । जुन अभिषेकले डिसेम्बर २०२३ मा प्राप्त गरेका थिए ।

अभिषेकले डेढ दर्जनभन्दा बढी राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन् । १३ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका अभिषेकको ८ वर्षदेखि नै टेनिस यात्रा सुरु भएको थियो ।

अभिषेकले देशको प्रतिनिधित्व गर्दै यू–१४ विश्व च्याम्पियनसिपको समूह २, आईटीएफको मुख्य ‘ड्र’ ग्रेड १ देखि ५, दक्षिण एसियाली खेलकुद, एसियन गेम्स, डेभिस कपलगायतका प्रमुख प्रतियोगिता खेलेका छन् । अमेरिकामा अध्ययनरत अभिषेक पछिल्लो समय युटीआरका प्रतियोगिताहरू खेल्न व्यस्त छन् । 

कान्तिपुर

Link copied successfully