‘माटोदेखि मैदानसम्म’ डकुमेन्ट्री स्क्रिनिङ, एनकेएल एन्थम सार्वजनिक

स्क्रिनिङ गरिएको डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हु.तुतु’ को रूपमा कबड्डी खेलेको इतिहास पनि देखाइएको छ ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

'Mato to Madina' Documentary Screening, NKL Anthem Public

काठमाडौँ — नेपाली कबड्डीको इतिहास समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ वुधबार स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम पनि सार्वजनिक गरिएको थियो ।

स्क्रिनिङ गरिएको डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हु.तुतु’ को रूपमा कबड्डी खेलेको इतिहास पनि देखाइएको छ । निशान शाहीद्वारा निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी संघ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, माओवादी जनयुद्धताका प्रतियोगिताविहीन ११ वर्षको कठिन अवधि पनि देखाउने प्रयास गरिएको छ ।

ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा नेपाली कबड्डी टिमले जितेको पदक, नेपालमै आयोजित १३ औं साग र ढाकामा भएको चौथो बंगबन्धु कपको उपलब्धि, महिला टिमले १९ औं एसियाली खेलकुद र छैटौं एसियन बिच गेम्स २०२६ का ऐतिहासिक कांस्य पदकलाई डकुमेन्ट्रीले सुखद पक्षको रूपमा समेटेको छ । डकुमेन्ट्रीमा माटोदेखि म्याटसम्मको रूपान्तरणलाई संघर्ष र सफलताको कथामा चित्रण गरिएको छ । एक घन्टा लामो डकुमेन्ट्रीले गत वर्ष एनकेएलको सुरु भएसँगै पुनरुत्थानको युग प्रारम्भलाई प्रस्ट पारेको छ ।

एनकेएल आयोजक एस्ट्रेनिक्स म्यानेजमेन्टद्वारा प्रस्तुत गरिएको डकुमेन्ट्रीको एक्ज्युकेटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीणकुमार साह, एडिटर सुमन खड्का र क्रिएटिभ एडिटर असिम श्रेष्ठ छन् । डकुमेन्ट्री स्क्रिनिङलगत्तै र्‍यापर भियोमाद्वारा तयार पारिएको एनकेएलको एन्थम पनि सार्वजनिक गरिएको थियो ।

कान्तिपुर

Link copied successfully