राष्ट्रिय महिला फुटबल : कपिलवस्तु-११ विरुद्ध संकटाको ११ गोल

संकटाको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

वैशाख २९, २०८३

घनश्याम गौतम

National Women's Football: Sankata scores 11 goals against Kapilvastu-11

What you should know

बुटवल — बुटवलमा जारी दोस्रो उपमेयर कप राष्ट्रिय महिला फुटबल-२०८३ मा संकटा क्लब काठमाडौंले कपिलवस्तु-११ लाई ११-१ गोलले पराजित गरेको छ । कपिलवस्तु-११ गत वर्षको उपविजेता हो ।

संकटाको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । संकटाले सेमिफाइनलमा ३१ वैशाखमा अभिषेक चर्च, नवलपुरसँग फाइनल प्रवेशका लागि खेल्ने छ । अभिषेक चर्च आयोजक बीस पचहत्तर युवा परिवार, बुटवललाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै ३० वैशाखमा हुने अर्को खेल नेपाल पुलिस र ट्रिनिटी क्लब, बालिङबीच हुनेछ । 

पुलिस हेटौँडा फुटबल एकेडेमीलाई र ट्रिनिटीले पद्मा स्पोर्टस, ओखलढुङ्गालाई हराउँदै सेमिफाइनल पुगेका हुन् । मंगलबार सिद्धेश्वर खेलमैदानमा भएको खेलमा संकटाले कपिलवस्तुमाथि सहज जित निकालेको हो । घानाका ३ विदेशी खेलाडी सहभागी गराएको संकटाले सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो । संकटाका लागि घानाकी लुसिया जोसेले डबल ह्‌याट्रिक गरिन् । लुसियाले पहिलो हाफमा ४ गोल गरिन् । दोस्रो हाफमा थप ३ गोल गर्दै दोस्रो ह्‌याट्रिक पुरा गरेकी थिइन् ।

यसैगरी संकटाकी अर्की विदेशी खेलाडी क्वीनबेलले ४ गोल गरिन् । कपिलवस्तु-११ का लागि सान्त्वना गोल प्रतिमा जर्घामगरले गरेकी थिइन् । 

उत्कृष्ट खेल प्रदर्शन गरेकी संकटाकी लुसिका लुसिया ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

प्रतियोगिताको फाइनल खेल २ जेठमा हुने आयोजक संस्था बीस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए । प्रतियोगितामा ८ टोलीको सहभागिता छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully